हेटौडा, ९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विकास, सुशासन र जनसेवालाई उच्च प्राथमिकतामा राख्दै जनताले अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
वागमती प्रदेश सभामा मंगलबार विश्वासको मतसम्बन्धी छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले वर्तमान सरकार केवल प्रशासन चलाउनका लागि मात्र नभई जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनका लागि गठन भएको बताउनु भएको हो ।
उहाँले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई सरकारको प्रमुख प्राथमिकतामा राखे कार्य गर्ने भन्दै मुख्यमन्त्री थापाले सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताउनुभयो । प्रदेश सरकारप्रतिको जनविश्वास अझ बढाउनु आफ्नो सरकारको प्रमुख जिम्मेवारी रहेको बताउदै उहाँले भन्नुभयो, “जनताले आश्वासन होइन परिणाम र नतिजा खोजेका छन्, कागजमा योजना होइन, गाउँघरमा विकास खोजेका छन्, नागरिकले सहज सेवा पाउने अवस्था सिर्जना गर्न मन्त्रालयहरूलाई सही दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
प्रदेश सरकारप्रतिको जनविश्वास अझ बढाउनु आफ्नो सरकारको प्रमुख जिम्मेवारी रहने बताउदै उहाँले समृद्ध नेपाल, सुखी नेपालीको कार्यदिशामा प्रदेश सरकार अघि बढ्ने बताउनुभयो । प्रदेश सरकार बलियो भएमात्रै संघीयता बलियो हुन्छ भन्दै उहाँले प्रदेश सरकार संघीयताको महत्वपूर्ण आधार भएकाले बागमती प्रदेश भित्र रहेका आर्थिक समृद्धिका थुप्रै आधारहरुको विकास गर्दै गाउँ र सहरबीच सन्तुलित विकास गरिने बताउनुभयो ।
स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई सरकारले प्राथमिकता दिने बताउँदै उहाँले किसानलाई अनुदानमा मात्र सीमित नराखी बजारसँग जोड्ने आधार तयार गरिने बताउनुभयो । युवाका लागि रोजगारी तथा अवसर सिर्जना गर्न कृषि, साना उद्यम तथा उद्योगलगायतका क्षेत्रमा सरकारले विशेष जोड दिने उहाँले बताउनुभयो ।
विकास निर्माणका काम समयमै सम्पन्न गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले यो सरकार सत्तापक्षको मात्र नभई बागमती प्रदेशका सबै जनताको सरकार भएको अनुभूति दिलाउने बताउनुभयो । सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन प्रतिपक्षबाट रचनात्मक सहयोगको अपेक्षा गर्दै उहाँले आलोचनालाई विरोधका रूपमा नभई सरकारलाई सही बाटोमा अघि बढाउने माध्यमका रूपमा लिने बताउनुभयो ।
सरकारलाई जिम्मेवार र प्रभावकारी बनाउन मुख्यमन्त्री थापाले विश्वासको मतलाई केवल संख्याको विषयका रूपमा नलिन आग्रह गर्दै यो प्रदेश र जनताको विकासका लागि दिइएको जिम्मेवारीको रुपमा आफूले लिएके बताउनुभयो ।

