काठमाडौँ, ११ कात्तिकः नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ । यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने विभागको भनाइ छ ।
विभागको मौसमविद् बिनु महर्जनले बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभावले नेपालका विभिन्न प्रदेशमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो ।
“चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षासमेत भएको थियो,” उहाँले भन्नुभयो, “चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनतर्फ प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान छ ।”
महर्जनका अनुसार यसको प्रभावले नेपालमा पनि बदली, वर्षा र हिमपातको सम्भावना रहेको छ । शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको महर्जनले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने सम्भावना पनि रहेको छ ।
मौसमविद् महर्जनले सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उहाँले सुझाव दिनुभयो ।
वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

