-अनुसा थापा (भक्तपुर)
काठमाडौं,२४ पुस । नेपाल सरकारले यो वर्ष पृथ्वीजयन्ती अवसरमा सार्वजनिक बिदा दिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मोत्सवको उपलक्ष्यमा सरकारले धेरै वर्षपछि बिदा दिने निर्णय गरेको हो । माओवादी सरकारमा आएपछि यो बिदा कटौती गरिएको थियो । अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) मुलुकको ड्राइभिङ सीटमा बसेका छन् । प्रधानमन्त्री दाहालले नै पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्दा कमाण्डर प्रचण्ड थिए ।
त्यतिखेर सर्वसाधारणले राजाको फोटो घरमा झुण्डाएर राख्यो भने माओवादीले सजाय दिन्थ्यो । जसको घरमा राजाको फोटो हुन्थ्यो उसले धेरै कष्ट खेप्नुपथ्र्यो । कि धुलोपिठो हुने गरी कुट्ने कि कालोमोसो दल्ने । कतिपयलाई चार पाटे मुडेका पनि छन् । कसैलाई बाँधेर लडाउँथे त आफ्नो पार्टीमा लिएर जान्थे । जरिवाना पनि छुट्टै छ । राजतन्त्रको विरोध गर्दै आएको पार्टी हो माओवादी । माओवादीका कार्यकर्ताहरुले राजालाई जनताको रगत चुस्ने जुका भएको बताउँदै आएका थिए ।
उनीहरु जसरी पनि राजा फाल्नुपर्नेमा थिए । जसका लागि तिनले जनयुद्धको घोषणा गरे । जसरी भएपनि राजालाई विस्थापन गराउने भनेर माओवादीहरु लागिपरेका थिए । राजाको परिवारलाई नेपालबाटै लखेट्ने अडान लिएर माओवादी आएको थियो । राजाको फोटो घरमा राखेकै भरमा माओवादीका कार्यकर्ताले कति सर्वसाधारणलाई मारे । कतिलाई अंगभंग बनाए । एकदमै कठिन सजायहरु पनि दिने काम भयो । तर, अहिले आएर प्रचण्डको रुप नै फेरियो । उनले आँउदो पुस २७ गते सार्वजनिक बिदा दिने बताएका छन् ।
तर, हिजो राजाको फोटो राखेकै भरमा सीधासाधी जनताले ज्यान गुमाउनुपर्यो । आजको परिस्थिति नै फेरिएको छ । जनताले ज्यान गुमाए त्यो अब फर्काएर ल्याउन सक्छन् ? कतिपयले मर्नेगरी कुटाइ खाए, कति अंगभंग भए । प्रचण्डले यसको भर्पाइ गर्न सक्छन् । हिजो जनयुद्धको नेतृत्व गर्ने पनि प्रचण्ड थिए आज देशको प्रधानमन्त्री पनि उनी नै छन् । पदका लागि मानिसले केसम्म गर्दो रहेछ भन्ने त यहाँबाट स्पष्ट भइसकेको छ । कि हिजो उनले जुन व्यवहार सर्वसाधारणलाई गरेका थिए आज उनलाई पनि त्यस्तै गर्नुपर्यो ।
नेतिकता छ भने प्रचण्डले तत्काल पदबाट राजीनामा दिनुपर्छ । हिन्दु राज्यको खुंखार विरोध गर्ने प्रचण्डले कुन दिनबाट नेपालमा राजतन्त्र चाहिन्छ भन्न बेर लगाउँदैनन् । राजाभन्दा सामान्ती र शोषकी त प्रचण्ड रहेछन् । केही समयपछि उनले लोकतन्त्र खारेज गर्नुपर्छ, हिन्दुराज्य ल्याउनुपर्छ भन्न थाल्छन् । पदका लागि यो तत्काल भन्न पनि बेर लाग्दैन् । राजाको फोटो झुण्डाएको र खल्तीमा बोकेकै भरमा जनताको जिउने अधिकार खोसियो । हिजो राजाको फोटो राख्नेलाई मार भन्ने त प्रचण्ड नै हुन् ।
उनकै निर्देशनमा त उनका कार्यकर्ताहरुले ज्यान लिएका हुन् । दण्डसजायको घोषणा गर्ने पनि प्रचण्ड । राजा सामान्ती हो, राजालाई देश निकाला गर्नुपर्छ भन्ने पनि उनै त हुन् । आज त्यही राजाको जन्मोत्सवमा बिदा दिनुपर्छ भन्ने र दिने पनि उनै हुन् । प्रचण्डले जनतालाई कतिसम्म भ्रममा पारेका रहेछन् भनेर बुझ्न जरुरी छ । उनलाई हिजो पनि पद प्यारो थियो आज पनि पद नै प्यारो छ । मर्ने त मरेर गइसके तर बाँकी भएकाले उनलाई घृणा गर्छन् ।
यसअघि पनि थु्रपै पार्टी आए र गए । पुस २७ गते सार्वजनिक बिदा दिनुपर्छ भनेर राप्रपाले धेरै अघिदेखि माग गर्दै आएको थियो । तर, कुनै सरकारले पृथ्वीजयन्तीको अवसरमा बिदा दिएको थिएन् । उनकै पालामा बिदा दिने निर्णय भएपछि जनता आश्चर्यचकित बनेका छन् । अरुले त दिन्न भनेपछि माओवादीलाई बिदा दिन किन हतारो ? उनी जनता र राष्ट्रका लागि आएका रहेछन् त ? अहिले आएर सबै छर्लङग भइसकेको छ । यस्तो व्यक्ति प्रधानमन्त्री बन्नु भनेको देशका लागि ठुलो दुर्भाग्यको कुरा हो ।
उनलाई प्रधानमन्त्री भन्नुपर्दा जनताकै शिर निहुरिन्छ । हिजो त्यत्रो जनताको छोराछोरी मरे । राजतन्त्र फ्याँक्नका लागि जनताका छोराछोरीले कति दुःख पाए । कति दिदीबहिनीको सिँउदो पुछियो । कति छोराछोरी टुहुरा बने । कमाएर ल्याउने उमेर भएका छोराछोरीले ज्यान गुमाउँदा बाबुआमा के गुज्रियो होला । प्रचण्डले यो सोचेनन् । उनी एक्लैले त राजतन्त्र फँयाकेका थिएनन् । जनताको छोराछोरीको साथका कारण माओवादीको जीत भएको थियो ।
तर, तिनले के पाए ? केही न केही । पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुहुन्न भनेर यसअघिका पार्टीले अडान कसेका थिए । यो दिन बिदा दियो भने शहिदहरुको अपमान हुन्छ, लोकतन्त्र खेर जान्छ भन्ने धारणा यसअघिका पार्टीका थियो । यसदिन छुट्टी दियो भने हिजो आन्दोलनमा घाइते भएकाहरुको घाउ थप बल्झिन्छ भनेर सरकारले बिदा दिएन् । तर, प्रचण्डले दिए, किन ? गम्भीर प्रश्न त उठिसकेको छ । प्रचण्डले विश्वासको मतका लागि यो निर्णय गरेका हुन् ।
राप्रपालाई सरकारमा ल्याउनका लागि उनले घुँडा टेके । अहिले आएर प्रचण्डको दिमागी खेल त सबैले बुझिसके । तर, हिजो त्यत्रो जनतालाई किन बोका मारेझैं मारेको ? जनताको छोराछोरीको बिनासित्ती रगत किन बगाएको ? जनताको छोराछोरीलाई बोकाझैं चटचटी काटे । राजनीति परिवर्तन गर्छु, देशमा विकास गर्छु, नेपालमा विदेशी ऋण भित्रिन दिँदिन, देशमा विदेशी हस्तक्षेप हुनुहुँदैन्, जातभातमा देखिएको भेदभावमा अन्त्य गर्छु, देशमै रोजगारीको सिर्जना गर्छु भनेर उनले जनयुद्ध शुरु गरेका थिए ।
एक दशक चलेको जनयुद्धमा धेरै नेपालीले ज्यान गुमाए । स्कुलमा पढ्न गएका बच्चाहरुलाई समेत आन्दोलनमै लैजाने काम भयो । दोहोरो भीडन्तमा पारेर जनताको छोराछोरी मार्यो । आफ्नो छोराछोरीलाई लुकाइछुपाई पढाए । उनको छोराछोरी त आज ठूलो ठाँउमा छन् । प्रचण्डको सन्तान न जनयुद्धमा मरे न अशिक्षित नै छन् । तर, ती सीधासाधी जनताको यसमा के दोष ? प्रचण्डको एउटी छोरी भरतपुर महानगरपालिकामा मेयर छिन् ।
अर्कीलाई आफ्नै स्वकीय सचिव बनाएका छन् । छोरा जिँउदो भएको भए उनी पनि मन्त्री भइसक्थे होला । आफ्नो भाइ सांसद् र ज्वाईलाई पनि ठूलो पदमा पुर्याए । उनले बुहारीलाई मन्त्री बनाए । शहिद भएका परिवारहरु न कुनै पद पाए । न जागिर नै पाए । राजनीतिमा माथि जान पनि उनीहरु असफल भए । तिनले क्षतिपूर्तिसमेत पाएका छैनन् । यस्ता व्यक्तिले पनि देश बनाउँछ ? शहिदका परिवारलाई उनले कहिले फर्किएर हेरे ? भोकभोकै रन्थनिएर हिँडेका छन् ।
शिक्षा, स्वास्थ्य, गाँस, बाँस, कपास सबैबाट उनीहरु वञ्चित भए । कतिपय बच्चाले बाबुआमा गुमाएका छन् । ती टुहुरा बालबालिकाका लागि प्रचण्डले के गरे ? अरुलाई सकाएर कतिञ्जेल आफ्नो परिवारलाई माथि ल्याइरहने ? प्रचण्डजस्तो हीनताबोध र घृणत व्यक्ति नेपालमा सायदै कोही होलान् । आज पनि कतिले आफ्नो शरीरबाट गोली निकाल्न सकेका छैनन् । किन कि उनीहरुसंग पैसा छैन् । तर, प्रचण्डलाई के मतलब ? मँहगो गाडी चढेका छन्, मँहगा लुगा लगाएका छन् ।
राम्रो ठाँउमा बस्न पाएका छन्, मेवा मिष्ठान्न खान पाएका छन् । हिजो चप्पल किन्न सक्ने अवस्था नभएका उनको आज करोडौंको सम्पत्ति छ । तर, त्यो गरिबहरुसंग के छ ? बिहानबेलुका भाँडामा हाल्न चामल छैन् । एक छाक खानलाई जनताले कति दुःख पाएका छन् ? उनले त्यो देखेनन् । जनताको प्रयोगबाहेक अरु केही भएन् । १७ हजार नेपालीको आँशुले प्रचण्डलाई सरापेको छ । त्यत्रो मान्छेले बगाएको रगत अवश्य पनि उनलाई लाग्नेछ । आफूलाई राजनीतिज्ञ भन्ने प्रचण्डसंग राजनीति गर्ने क्षमता नै छैन् ।
कहिले केपी ओली त कहिले शेरबहादुर देउवाको शरणमा पुगेर पद मागिरहेका हुन्छन् । जनयुद्धको बेलामा एमाले, राप्रपा र कांग्रेसको कार्यकर्ता देख्न नसक्ने माओवादी आज उसैसंग टाँसिएको छ । कि चन्दा माग्ने कि कालोमोसो दल्ने । त्यतिखेर यो व्यापक चलेको थियो । अब प्रचण्डलाई के सजाय दिने ? उनलाई कालोमोसो दल्ने कि चारपाटे मुडेर पैदल घुमाउने । आफ्नै कार्यकर्ता मार्नेलाई कांग्रेस, एमाले र राप्रपाले साथ दिएको छ । माओवादीलाई त कारबाही गर्नुपर्ने होइन् र ? प्रचण्ड त कानुनको कठघरामा हुनुपर्ने हो ।
भनिन्छ,‘पाप धुरीबाट कराउँछ ।’ उनको राजनीति र पार्टी दुवै सखाप भइसक्यो । अब पाला अन्य पार्टीको । झापा आन्दोलनमा मान्छे मारेको सजाय केपीले पनि भोगिरहेका छन् । मान्छे मारेर कहिले पनि राजनीति हुँदैन् भनेर बुझ्न जरुरी छ । प्रचण्ड र केपी नेता होइनन्, अपराधी हुन् । यिनलाई नेता भन्नु जनताको विचार कम भएर हो । यिनको कर्तुत अझै पनि छर्लङ्ग हुन बाँकी छ । जुनदिन जनताले सत्य थाहा पाउँछन्, त्यो दिन देश निकाला गर्छन् ।

