भक्तपुर, २२ कात्तिक : आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा मतदाता तथा मतदानमा खटिने कर्मचारीलाई मतदान केन्द्रको निर्माणदेखि मतदान र मतपेटिका सुरक्षासम्मको जानकारी दिने उदेश्यले जिल्लाको चारवटा नगरपालिकामा आयोजना गरेको नमूना मतदान सम्पन्न भएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले भक्तपुर र चाँगुनारायण तथा मध्यपुरथिमि, र सूर्यविनायक नगरपालिकामा दुई दिन लगाएर सञ्चालन गरेको नमूना मतदान कार्य सम्पन्न भएको कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
मतदाता शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने मूल उदेश्यले मतदाता र कर्मचारीलाई मतदान सम्बन्धी सम्पूर्ण प्रक्रियाकाबारेमा जानकारी दिन नमूना मतदान आयोजना गरेको उहाँले बताउनु भयो ।

मतदाताले मतदान कसरी गर्ने, मतपत्र कसरी पट्याउने, चार वटा मत पेटिका रहेनमा कुन कुन लाइनमा पहिला बसेर लाइन बसेर जाने, मतदान गर्न जादा मतदान केन्द्रमा के गर्न हुने र के के गर्न हुदैन भन्ने जस्ता सन्देश र जनचेतना फैलाउने उदेश्यले नमूना मतदान कार्य सम्पन्न भएको छ ।
त्यस्तै मतदानमा खटिने कर्मचारीलाई मतदान अघिल्लो दिनबाट गएर मतदान केन्द्रको तयारी कसरी गर्ने, मतदान केन्द्रको बुथ कसरी बनाउने, मतदानका दिन के के गर्ने, मत पेटिका सुरक्षित कसरी राख्ने जस्ता बिभिन्न पक्षकाबारेमा जानकारी दिन नमूना मतदान आयोजना गरेको उहाँले जानकारी दिनु भयो । नमूना मतदानमा सरकारी कर्मचारी, मतदानमा खटिने स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र सर्वसाधारणको सहभागिता रहेको थियो ।

नमुना मतदानको व्यवस्थापन एवं प्रभावकारिताकाबारेमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाएचन अधिकृत एवं भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस गोपालप्रसाद बास्तोला, जिल्ला निर्वाचन कार्यालयका प्रमुख न्यौपानेलगायतले चर्चा गर्नु भएको थियो ।
नमूना मतदानमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इन्द्रबक्स गण सूर्यविनायक ब्यारेकका सेनानी श्यामराजाविक्रम थापा, सशस्त्र प्रहरी बल गुहेश्वरीका सप्रउ. नरबहादुर राउत, कार्यालय प्रमुखहरु, नगरपालिकाका कर्मचारीहरु, शिक्षक शिक्षिका लगायत सर्वसाधारणले नमुना मतदान गरेको उहाले जानकारी दिनु भयो ।

