भक्तपुर २५ असोज : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको एक लाख राशीको अन्तर वडास्तरीय फुटवल प्रतियोगिता आजबाट सुरु भएको छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित खेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिताको नगर प्रमुख वासुदेव थापाले उद्घाटन गर्नुभयो ।

प्रतियोगिताको विजेताले रू एक लाख, उपविजेताले रू ५० हजार, तृतीय हुनेले रू २५ हजार नगद, ट्रफी, प्रमाणपत्र, मेडलसहित पुरस्कार प्राप्त गर्ने प्रतियोगितामा चौथोले १० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट गोल किपरले रू ५ हजार, उत्कृष्ट गोलकर्ताले रू ५ हजार र उत्कृष्ट प्रशिक्षकलाई रू ५ हजार पुरस्कार प्राप्त गर्ने सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, विभिन्न वडाका वडाध्यक्ष, नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत खेलकुदप्रेमीको उपस्थिति थियो । कार्यक्रममा शर्मिला बस्नेत लक्सालले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख थापाले भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको नगरपालिकाले यस वर्ष खेलकुदको विकासका लागि नगरपालिकाले एक करोड रुपयाँको बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले तिहार पछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशालाका निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको बताउदै उहाँले नगरपालिकाले यसवर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गर्ने बताउनुभयो ।
हरेक महिना खेलकुद प्रतियोगिता गर्दै नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउदै उहाँले तीन तहकै सरकारले खेल र खेलाडीको विकासका लागि लगानी गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले खेलकुदको विकासलाई उच्च प्राथमिकतामा राखेर प्रतियोगिता सञ्चालन गर्दै आएको चर्चा गर्दै स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउने नगरपालिकको लक्ष्य साकार हुने बताउनुभयो । यस प्रकारको प्रतियोगिताले खेलाडीको क्षमता पहिचान र विकास गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक नगरपालिकाले बिभिन्न खेलकुदलाई रचनात्मक रूपमा अघि बढाएको बताउदै नगरभित्रका खेलाडीलाई प्रोत्साहन दिएको बताउनुभयो ।

वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले यस प्रतियोगिताले थानीयस्तरमा फुटबलको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताउदै स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नगरको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आज पहिलो खेल वडा नं. २ र वडा नं. ८ बीच प्रतिस्पर्धा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

