सोमवार, अशोज २६, २०८३ | Mon October 12, 2026


घटस्थापनाका दिन साँझबाट भक्तपुरका बिभिन्न शक्ति पिठहरुमा नौ राते अर्थात नवरात्री मेला सुरु

घटस्थापनाका दिन साँझबाट भक्तपुरका बिभिन्न शक्ति पिठहरुमा नौ राते अर्थात नवरात्री मेला सुरु



भक्तपुर, २५ असोज : घटस्थापनाका दिन आज साँझबाट भक्तपुरका बिभिन्न शक्ति पिठहरुमा नौ राते अर्थात नवरात्री मेला सुरु भएको छ ।  आश्विन शुक्ल प्रतिपदाको दिन आजबाट ब्रम्हायणी मन्दिरमा नवरात्री मेला सुरु भएको छ । मेला भर्न रातभरी दर्शनार्थीहरुले ब्रम्हायणीमा गएर मेला भर्ने परम्परा रहेको छ । भक्तपुरका नौ वटा शक्ति पिठहरुमा नौ दिनसम्म राती मेला लाग्ने गर्दछ ।
घटस्थापनाको दिनबाट सुरु हुने यो मेलामा यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्री मेला भर्ने गरिन्छ । रातको समयमा यहाँका बासिन्दाले शक्तिपीठहरुमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । टोल टोलबाट स्थानीयवासीहरु बिभिन्न बाजागाजा सहित मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।
नवरात्रि मेलाको पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँको नवरात्री समापन गर्ने प्रचलन रहेको भक्तपुरका संस्कृतिविद प्रकाश धौभडेलले जानकारी दिनुभयो ।
नवमीको दिन राती महिषासुरु दैत्यको प्रतिकका रुपमा लिईने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवन गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउदै ब्रम्हायणी मन्दिरमा पुर्याएर बलि दिने प्रचलन रहेको छ । नवमीको दिन रातीभरी र दशमीको दिनभरी ब्रम्हायणी मन्दिरमा हजारौको भीडमा ठूलो मेला लाग्ने गर्दछ ।
त्यसको भोलीपल्ट राती भक्तपुर दरबार स्क्वायरबाट तलेजु भवानीको वाहन सेतो घोडा पायो जात्रा अर्थात खड्ग जात्रा गरी नगर परिक्रमा गर्ने गरिन्छ । स्थानीयले यसलाई पायो न्हयाकेगू जात्रा पनि भन्ने गर्दछन् ।
भक्तपुरमा दशैंमा मनाइने जात्रा नवदुर्गाको उत्पत्तिसँग सम्बन्धित रहेको संस्कृतिविद् धौभडेल बताउनुहुन्छ । नवदुर्गाका नौ स्वरुप जीवित हुने परम्पराको रुपमा नौराते अर्थात नवरात्री जात्रा चलिआएको उहाँको भनाइ छ । यसअघि मृत्युवरण गरेका नवदुर्गा गण दशैँ सुरु भएसँगै जीवित हुने विश्वास गरिने उहाँले जानकारी दिनुभयो । उहाँले यो जात्रालाई असत्यमाथि सत्यको विजयका रुपमा मनाउने गरेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित