मङ्लबार, फाल्गुन ५, २०८२ | Tue February 17, 2026


नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य



भक्तपुर, ३० चैत । नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाको संयुक्त प्रयासमा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिन लागेको हो । नयाँ वर्ष २०८२ को पहिलो दिन, वैशाख १ गते, राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो ।

भ्रमण वर्षका आयोजक स्थानीय तहहरु भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिकाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् । भ्रमण वर्षमा नगरकोट क्षेत्रमा १ लाख आन्तरिक पर्यटक र १० लाख बाह्य पर्यटक गरी कुल ११ लाख पर्यटक भित्र्याउने आयोजकले लक्ष्य लिएका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आयोजना हुने भ्रमण वर्षमार्फत नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्य लिएको छ । साथसाथै नगरकोटलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य समेत राखिएको छ ।
<span;>मूल आयोजक समितिका संयोजक तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले चारवटै पालिकाले भ्रमण वर्षको तयारीमा जुटेको र प्रचारप्रसार तीव्र रूपमा भइरहेको जानकारी दिए । साथै, पर्यटकलाई स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यले नमुना होमस्टे बनाइएको र रैथाने बाली पकाएर खुवाउने योजना पनि रहेको बताए ।

भ्रमण वर्षको अवधिभर चारवटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको भ्रमण गराइने छ । नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिइने गरिन्छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले केही वर्षअघि नगरकोट प्रमुख पर्यटकीय गन्तव्य भए पनि पूर्वाधार साथै अन्य अभावका कारण ओझेलमा पर्दै गएको बताए । नगरकोटमा पहिलेकै अवस्थामा पर्यटकको चहलपहल बढाउन नगरपालिकाको पहिलो बैठकबाटै भ्रमण वर्ष मनाउने निर्णय गरिएको र अन्य पालिकासँग सहकार्य गर्दै अघि बढिएको उनले बताए ।

यो पनि पढ्नुहोस  उद्योग वाणिज्य संघको सर्वसम्मत नेतृत्व चयनमा बाधक बन्दै रास्वपा, महासचिवमा रास्वपा नेतासंग भिड्दै व्यवसायी नविन प्रजापति

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले अहिलेको नगरकोट अघिल्लो अवस्थाभन्दा निकै फरक भइसकेको बताउँदै पर्यटकले नयाँ अनुभव पाउने बताए । साथै, बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा पनि सम्भव हुने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोट र चारवटै स्थानीय तहबीचको सम्बन्ध सुदृढ गर्दै समग्र पर्यटन योजनाको डीपीआर तयार पार्ने काम भइरहेको बताए । उनले नगरकोटमा मात्र पर्यटक सिमित भैरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरुमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्याउनका लागि भ्रमण वर्षले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षले स्थानीय प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने बताउँदै जातजाति, भेषभूषा, पर्व र सांस्कृतिक पहिचान उजागर गरिने उल्लेख गरे । भ्रमण वर्षका सल्लाहकार घनश्याम खतिवडाले चारै पालिकाका सम्पदा चिनाउने उद्देश्य रहेको र विविध समुदायका परम्परा र रीतिरिवाजलाई एकै थलोमा समेट्ने प्रयास गरिने बताए । भ्रमण वर्ष उद्घाटनको दिन बतासे डाँडामा ५० भन्दा बढी स्टल रहनेछन्, जसमा फुड स्टल, कृषि सामग्रीका प्रदर्शनी, गुरुङ समुदायको संग्राहलय र सबै पालिकाका झाँकी समावेश गरिनेछ । साथै, नगरकोट–काठमाडौं सिधा बस सेवा पनि सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित