शुक्रबार, जेष्ठ १०, २०८२ | Fri May 23, 2025


नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य

नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य



भक्तपुर, ३० चैत । नगरकोट भ्रमण वर्ष २०८२ मा ११ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । भक्तपुर, काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाको संयुक्त प्रयासमा ‘नगरकोट भ्रमण वर्ष २०८२’ आयोजना गरिन लागेको हो । नयाँ वर्ष २०८२ को पहिलो दिन, वैशाख १ गते, राष्ट्रपति रामचन्द्र पौडेलले नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो ।

भ्रमण वर्षका आयोजक स्थानीय तहहरु भक्तपुरको चाँगुनारायण, काठमाडौंको शंखरापुर, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिकाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका हुन् । भ्रमण वर्षमा नगरकोट क्षेत्रमा १ लाख आन्तरिक पर्यटक र १० लाख बाह्य पर्यटक गरी कुल ११ लाख पर्यटक भित्र्याउने आयोजकले लक्ष्य लिएका छन् । नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वयमा आयोजना हुने भ्रमण वर्षमार्फत नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र ऐतिहासिक सम्पदालाई प्रचारप्रसार गर्ने उद्देश्य लिएको छ । साथसाथै नगरकोटलाई औपचारिक पर्यटकीय क्षेत्र घोषणा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने लक्ष्य समेत राखिएको छ ।
<span;>मूल आयोजक समितिका संयोजक तथा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले चारवटै पालिकाले भ्रमण वर्षको तयारीमा जुटेको र प्रचारप्रसार तीव्र रूपमा भइरहेको जानकारी दिए । साथै, पर्यटकलाई स्थानीय संस्कृति र स्वादको अनुभव गराउने उद्देश्यले नमुना होमस्टे बनाइएको र रैथाने बाली पकाएर खुवाउने योजना पनि रहेको बताए ।

भ्रमण वर्षको अवधिभर चारवटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिर लगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरुको भ्रमण गराइने छ । नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरु, सुर्योदय र सुर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौं उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा लिइने गरिन्छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले केही वर्षअघि नगरकोट प्रमुख पर्यटकीय गन्तव्य भए पनि पूर्वाधार साथै अन्य अभावका कारण ओझेलमा पर्दै गएको बताए । नगरकोटमा पहिलेकै अवस्थामा पर्यटकको चहलपहल बढाउन नगरपालिकाको पहिलो बैठकबाटै भ्रमण वर्ष मनाउने निर्णय गरिएको र अन्य पालिकासँग सहकार्य गर्दै अघि बढिएको उनले बताए ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले अहिलेको नगरकोट अघिल्लो अवस्थाभन्दा निकै फरक भइसकेको बताउँदै पर्यटकले नयाँ अनुभव पाउने बताए । साथै, बनेपाको चण्डेश्वरी मन्दिरसम्म पदयात्रा पनि सम्भव हुने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपालले नगरकोट र चारवटै स्थानीय तहबीचको सम्बन्ध सुदृढ गर्दै समग्र पर्यटन योजनाको डीपीआर तयार पार्ने काम भइरहेको बताए । उनले नगरकोटमा मात्र पर्यटक सिमित भैरहेको अवस्थामा चार वटै नगरपालिकाका जनप्रतिनिधिहरुमार्फत विकासको योजना बनाएर एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्याउनका लागि भ्रमण वर्षले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।

चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले भ्रमण वर्षले स्थानीय प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदालाई पर्यटनसँग जोड्ने बताउँदै जातजाति, भेषभूषा, पर्व र सांस्कृतिक पहिचान उजागर गरिने उल्लेख गरे । भ्रमण वर्षका सल्लाहकार घनश्याम खतिवडाले चारै पालिकाका सम्पदा चिनाउने उद्देश्य रहेको र विविध समुदायका परम्परा र रीतिरिवाजलाई एकै थलोमा समेट्ने प्रयास गरिने बताए । भ्रमण वर्ष उद्घाटनको दिन बतासे डाँडामा ५० भन्दा बढी स्टल रहनेछन्, जसमा फुड स्टल, कृषि सामग्रीका प्रदर्शनी, गुरुङ समुदायको संग्राहलय र सबै पालिकाका झाँकी समावेश गरिनेछ । साथै, नगरकोट–काठमाडौं सिधा बस सेवा पनि सञ्चालनमा आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित