भक्तपुर, ३० कात्तिक : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वागमती प्रदेशलाई योगमय प्रदेश घोषणा गरिने बताउनु भएको छ । भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर परिषरमा आज आयोजना गरेको डोलेश्वर मन्दिर पातञ्जल योग साधना केन्द्रको दोश्रो वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले यसको तयारी भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “वागमती प्रदेशका १३ जिल्लालाई योगमय जिल्ला बनाउन प्रदेश सरकारले कार्यक्रम ल्याएको छ । योग साधना गर्ने पातञ्जल, पतञ्जली, जीवन बिज्ञान सबैलाई के के कुरामा सहयोग आवश्यक छ, त्यो सहयोग गर्न प्रदेश सरकार तयार छ । वागमती प्रदेशलाई योग साधना प्रदेश घोषणा गर्न तयारीमा छौं, त्यसका लागि तपाईहरु लाग्नुस् ।

प्रदेश सरकार प्रदेशस्तरको योग समिति बनाएको र त्यसलाई व्यबस्थापन गर्न कार्यबिधि बनिरहेको बताउदै उहाँले सार्वजनिक भवन, विद्यालय, सामुदायिक भवनलगायतका क्षेत्रहरुमा विहानको समयमा योग साधना सञ्चालन गरेको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “प्रदेश सरकारले यसवर्ष जनस्वास्थ्य कार्यालय मार्फत योगका लागि केही बजेट राखेका छौं, तर त्यो बजेटबाट पातञ्जल योग, पतञ्जली योग, जिवन विज्ञानलगायत योगमा सक्रिय संस्थाहरुमार्फत योगको विकासका लागि खर्च गरिने छ ।”
उहाँले डोलेश्वरमा किरियापुत्री भवन प्रयोग गरेर योग गर्न थालेको स्मरण गर्दै भन्नुभयो, “वागमती प्रदेश सरकारले डोलेश्वर महादेव मन्दिरमा धेरै संरचना बनाएको छ, अब एउटा धर्मशाला बन्न बाँकी छ, त्यसका लागि डिपिआस बन्दै छ, यसवर्ष वागमती प्रदेश सरकारबाट धर्मशाला निर्माणका लागि नौ करोड रुपैयाँको बजेट विनियोजन गरेका छौं, धर्मशाला बनेपछि त्यहाँको हलमा स्थायी रुपमा योग गर्न निकै सहज हुनेछ ।”

भक्तपुर जिल्लाबाट प्रदेश सरकारको नेतृत्व गरिरहदाँ मैले के गर्नु पर्छ ?, योग साधना क्षेत्रमा, शिक्षा क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, विकास निर्माणको सन्दर्भमा र अन्य क्षेत्रमा पनि वागमती प्रदेश सरकाले गर्ने कुरामा पछाडि नपरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफू स्वास्थ्य मन्त्री हुँदा सिपाडोलमा डोलेश्वरबाट पाटी भञ्याड जाने बाटो निर्माणका लागि १६ करोड बजेटको व्यबस्था गरेको स्मरण गर्दै उहाँले यसवर्ष डोलेश्वरबाट आशापुरीसम्म धार्मिक पर्यटन प्रबर्दन गर्नुपर्छ भनेर १४ करोड रुपैयाँको बजेटका व्यबस्था गरि सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “डोलेश्वर आशापुरी सडक म जिल्ला विकास समितिको सदस्य हुँदा खनेको थियो, तत्कालिन बिद्राही पक्षले बाटो बनाउदा मलई सिध्याउने खोजेका थिए, त्यो बाटो बनाउँदा जग्गा पर्नेहरुले खुर्पाले हान्दा नसमातेको भए के हन्थ्यो होला ? त्यति दुःख गरेर खनेको बाटो हो त्यो, जनतासंग प्रतक्ष्य जोडेर विकास गरिएको हो । अहिले सामाजिक सञ्जालमा केही गरेन भन्ने प्रचार गरिरहेको छन् ।”

स्थानीय तहको निर्वाचन आउँदैछ, भन्दै उहाँले जसले जनतासंग प्रतक्ष्य रुपमा जोडिएर काम गर्छ, अबको स्थानीय चुनाबमा त्यसलाई छान्नु पर्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, “कोठामा बसेर फेसबुक चलाएर केही भएन भनेर स्टाटस लेखेको छ, त्यस्ता व्यक्तिले चुनाब जितेर आए भने जनतासंग जोडिएर काम गर्न सक्दैनन्, यसतर्फ तपाईहरुले ख्याल गर्नुपर्छ ।”
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेत, पातञ्जल योग केन्द्रीय समितिका अध्यक्ष बालमुकुन्द सुवाल, केन्द्रीय महासचिव नवराज काफ्लेलगायतले योगमय प्रदेश हुदै योगमय देश घोषणा गर्ने गरि कार्यक्रम अगाडि ल्याएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

