मङ्लबार, कार्तिक १८, २०८३ | Tue November 03, 2026


नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मान



हेटौँडा, १६ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले उद्योगी व्यवसायीले भोग्दै आएका समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशले आज हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्मानमा आयोजना गरेकाे बधाई तथा छलफल कार्यक्रममा सम्बोधन गर्दै उहाँले उद्योगी व्यवसायीलाई सहजीकरण गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउन प्रदेश सरकार लागिरहेको बताउनुभयो ।

“बागमती प्रदेश सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश हो । तपाईंहरूले विभिन्न उद्योग तथा कलकारखाना स्थापना गर्नुभएको छ । तपाईंहरूका समस्याहरू मैले बुझेको छु,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । उहाँले उद्योगी व्यवसायीले बैंकको उच्च ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हडताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधलगायतका समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।

“कहिले बैंकको ब्याज एकदम माथि १४–१५ प्रतिशत पुग्ने, कहिले दक्ष कामदार नपाउने, कहिले कारखानामा मजदुरहरूले हडताल गर्ने, राम्रोसँग उद्योग चलिरहेको बेला स्थानीयको अवरोध हुनेजस्ता समस्याहरू छन्,” उहाँले भन्नुभयो । यस्ता चुनौतीका बाबजुद पनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहेको भन्दै उहाँले निजी क्षेत्रको योगदानको प्रशंसा गर्नुभयो ।

“तपाईंहरूले आफूले लगानी गरेर स्वदेशमै केही गरौँ, नेपालीहरूलाई रोजगारी दिऊँ भनेर काम गरिरहनुभएको छ । नेपालीलाई स्वरोजगार बनाउन र रोजगारी दिन तपाईंहरूको महत्वपूर्ण भूमिका छ,” मुख्यमन्त्रीले भन्नुभयो । उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “उद्योग कारखाना चलाएर तपाईंहरूले तिर्नुभएको करबाट आज सरकार सञ्चालन भइरहेको छ । चाहे संघीय सरकार भनौँ, स्थानीय सरकार वा प्रदेश सरकार ।”

सरकारले करको दायरा बढाउँदा उद्योग व्यवसाय सञ्चालनमा समस्या पर्न सक्ने विषयप्रति आफूहरू सचेत रहेको उहाँको भनाइ थियो । प्रदेश सरकार करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । “प्रदेश सरकार करको दर बढाउनभन्दा पनि त्यसको दायरा बढाउन केन्द्रित भएर लागेको छ । व्यवसायीलाई कसरी सहजीकरण गर्ने, व्यवसायीसँग कसरी हातेमालो गरेर अगाडि बढ्ने भनेर प्रदेश सरकार लागिरहेको छ,” उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस  स्वास्थ्य मन्त्री किरण थापको निर्देशनमा सुकुम्वासी शिविरमा स्वास्थ्य परीक्षण एवं औषधि वितरण

सडक पूर्वाधारको समस्याले विदेशी पर्यटकको आगमनसमेत घटेको उल्लेख गर्दै मुख्यमन्त्रीले बाढीका कारण अवरुद्ध सडक सञ्चालन गर्न प्रदेश सरकारले वैकल्पिक मार्गको व्यवस्था गरेको जानकारी दिनुभयो । “बाढीका कारण बन्द भएका सडक खुलाउन प्रदेश सरकारले वैकल्पिक बाटाहरू चलायो । जसले गर्दा काठमाडौंमा उपभोग्य सामानको अभाव हुन पाएन,” उहाँले भन्नुभयो ।

संकटको समयमा बजारमा कृत्रिम अभाव हुन नदिन नेपाल उद्योग वाणिज्य महासंघले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले महासंघको अनुगमनले काठमाडौं उपत्यकामा कालोबजारी नियन्त्रण गर्न सहयोग पुगेको बताउनुभयो । “यसपालि उद्योग वाणिज्य महासंघले गरेको अनुगमनले काठमाडौं उपत्यकाभित्र कालोबजारी हुन पाएन,” उहाँले भन्नुभयो । त्यस्तै, भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक सडक सञ्चालन गरिएका कारण ग्यासको अभावसमेत न्यूनीकरण भएको उहाँले बताउनुभयो ।

“प्रदेश सरकारले भीमफेदी हुँदै सिस्नेरी जाने वैकल्पिक बाटो खोलेर पनि जति मात्रामा ग्यासको अभाव हुन सक्थ्यो, त्यो हुन पाएन । त्यसमा उद्योगी व्यवसायीले गर्नुभएको सहयोगप्रति बागमती प्रदेश सरकार धन्यवाद दिन चाहन्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो । उहाँले संकटको समयमा आपूर्ति व्यवस्था सहज बनाउन उद्योगी व्यवसायीले खेलेको भूमिकाको प्रशंसा गर्दै सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित