भक्तपुर, १६ कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले आज मध्यपुरथिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई नियन्त्रणमा लिएको छ ।

आज मध्यान्ह घिमिरेका भाञ्जा भुवन ढुङ्गेल सवार बागमती प्रदेश ०१–०३५ च २६८७ नम्बरको इभी कारबाट ३३ लाख रुपैयाँ सहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गाडीमा नगद राखेसंगै पिछा गरेको अख्तियार टोलीले मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको टोलीले गाडीलाई नियन्त्रणमा लिएर एक हजार दरका ३२ लाख र पाँच सय दरका एक लाख गरि कूल ३३ लाख रुपैयाँ बरामद गरेको छ ।

अख्तियारको टोलीले मध्यपुरथिमि नगरपालिकाबाट गाडी निस्किए पछि पिछा गर्दै निकोसेरा पुगेर चालक वरुण ढुङ्गेलसहित कारमा सवार भुवन ढुङ्गेल र उहाँको श्रीमतीलाई सविना बरालसहित चार जनालाई नियन्त्रणमा लिएको हो । त्यसलगत्तै अख्तियार टोलीले नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिइ घटनास्थलमा ल्याइएको छ ।

मध्यान्हदेखिनै बरामद भएको रकम घट्नास्थलमै मध्यपुरथिमि नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजवाहकको रोहबरमा मुचुल्का उठाउने र नोटको नम्बर जाच्ने कार्य साँझ ६ बजेसम्म पनि जारी रहेको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने उक्त रकम गुण्डुमा भाञ्जाले घर बनाउनका लागि ल्याएको दाबी गर्नु भएको छ । अख्तियार टोलीले भने उक्त रकम घुस वापत लिएको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

