भक्तपुर, १५ कात्तिक । सूर्यविनायक नगरपालिकाले सूर्यविनायक मेयर कप जिल्ला अन्तर क्लब स्तरीय ब्याडमिन्टन प्रतियोगिता-२०८३ आयोजना गर्ने भएको छ । सूर्यविनायक नगर खेलकुद विकास समितिले कात्तिक २१ गतेदेखि प्रतियोगिताको आयोजना गर्ने भएको नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागि हुन समितिले सार्वजनिक सूचना जारी गर्दै यहीँ १९ गतेसम्म फाराम भर्न आव्हान गरेको छ । प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, ४५ वर्ष माथिको भेट्रान डबल्स, १७ वर्ष मुनीको पुरुष एकल गरि चार विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा सबै विधामा प्रथम हुनेलाई नगद रु. ३० हजार, दोश्रो हुनेलाई नगद रु. २० हजार, तेश्रो हुनलाई नगद रु. १० हजार पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीलाई रुं ८ हजार र उदयमान खेलाडीलाई प्रोत्साहन स्वरुप नगद रु. ५ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिने समितिका सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
सूर्यविनायक नगरपालिकाले नगद खेलकुद विकास समिति गठन गरेसंगै नगरपालिकाले खेलकुदको प्रशिक्षण, प्रतियोगिता र विकासमा लगातार कार्य गर्दै आएको नगरपालिकाका आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतले जानकारी दिनुभयो । नगर प्रमुख वासुदव थापाले यसवर्ष खेलकुदका लागि मात्रै नगरपालिकाले रुं एक करोड बजेट विनियोजन गरेको र खेलकुदबाट नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गरि खेलाडी उत्पादन गर्न लागिरहेको बताउनु भयो ।

