सोमवार, अशोज २६, २०८३ | Mon October 12, 2026


बुढीगण्डकी नदीमा आएको बाढीबाट सुरक्षित रहन मुख्यमन्त्री किरण थापाको नागरिकजनमा आव्हान

बुढीगण्डकी नदीमा आएको बाढीबाट सुरक्षित रहन मुख्यमन्त्री किरण थापाको नागरिकजनमा आव्हान



भक्तपुर, २५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज आइतबार बिहान गोरखा जिल्लास्थित बुढीगण्डकी नदीमा ठूलो आवाजसहित अचानक बाढी आएको सूचना प्राप्त भएको बताउदै यसबाट हुने क्षतिबाट बच्न र बचाउन आव्हान गर्नु भएको छ ।
माथिल्लो तटीय क्षेत्रमा वर्षा भएको पुष्टि नभएको अवस्थामा बाढी आउनुको कारण हालसम्म यकिन हुन नसकेको भन्दै उहाँले नदी आसपासका केही गाउँबस्तीमा क्षति पुगेको जानकारी प्राप्त भएकाले सबैलाई सचेत रहन र सुरक्षित स्थानतर्फ जान आव्हान गर्नु भएको हो ।
उहाँले भन्नुभयो,  बुढीगण्डकी नदीको तल्लो तटीय क्षेत्र तथा बुढीगण्डकी–त्रिशूली नदीको दोभानदेखि धादिङको बेनीघाट, विशालटार हुँदै नारायणगढसम्म त्रिशूली नदी आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहन सक्ने भएकाले सम्बन्धित सबै निकाय तथा आम नागरिकमा उच्च सतर्कता अपनाउन बागमती प्रदेश सरकार हार्दिक अनुरोध गर्दछ।
यस सम्बन्धमा देहायबमोजिमका सावधानी तथा प्रतिकार्यका उपायहरू अवलम्बन गर्न अनुरोध गर्दै उहाँले नदी तटीय क्षेत्रका बासिन्दाहरूले नदीको जलस्तर र बहावमा अचानक परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सतर्क रहनुहुन तथा जोखिमयुक्त स्थानमा रहेका व्यक्तिहरू सुरक्षित र उच्च स्थानमा जानुहुन आव्हान गर्नुभयो ।
मुख्यमन्त्री थापाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न, नदीमा प्रवेश नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गर्दै पृथ्वी राजमार्गको त्रिशूली नदी आसपासको खण्डमा, विशेषतः बुढीगण्डकी–त्रिशूली दोभानदेखि बेनीघाट, विशालटार हुँदै नारायणगढसम्मको क्षेत्रमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूले तत्काल स्थलगत जोखिम मूल्याङ्कन गरी आवश्यकताअनुसार सवारी आवागमन रोक्ने, नियमन गर्ने वा वैकल्पिक व्यवस्था मिलाउने कार्य गर्न अनुरोध गर्नुभयो ।
उहाँले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न निकायहरूले सम्भावित जोखिम क्षेत्रको निरन्तर अनुगमन, पूर्वसूचना सम्प्रेषण, आवश्यक उद्धार तथा राहत सामग्रीको तयारी र अन्तरनिकाय समन्वयलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।
आम नागरिकहरूले सम्बन्धित आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशनको पालना गर्नुहुन र अपुष्ट सूचना सम्प्रेषण नगर्नुहुन अनुरोध गर्दै बाढीको सम्भावित कारण, प्रभाव तथा क्षतिको विवरण यकिन गर्ने कार्यमा सम्बन्धित निकायहरूबाट आवश्यक जानकारी संकलन तथा समन्वय हुनुपर्ने भएकाले परिस्थितिको संवेदनशीलतालाई ध्यानमा राखी सबै पक्षलाई जिम्मेवार र सतर्क रहन अनुरोध गर्नुभयो ।
यस विषम परिस्थितिमा नागरिकको जीवन रक्षा, जनधनको सुरक्षा तथा सम्भावित क्षति न्यूनीकरणका लागि सम्बन्धित सबै निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र र आम नागरिकबाट आवश्यक सहयोग, समन्वय तथा सतर्कताको अपेक्षा गरिएको उहाँले जारी बिज्ञप्तीमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस   प्रदेश नं १ का मन्त्री थापा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित