भक्तपुर, ४ कात्तिक : प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ ।
नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वास अनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातीदेखि नै ब्रम्हायणीमा मेला भर्न भीड लागेको थियो ।
व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप (दियो) बालेर ब्रम्हायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन रहे अनुसार यहाँका बासिन्दाले शरीरमा बत्ति बालेर र शरीर नापेर ब्रम्हायणीसम्मको याा पुरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने, धर्म प्राप्त हुने जनविश्वास रहेको छ ।
मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरी नै भव्य मेला लाग्ने गर्दछ भने नेवार समुदायले आज मोहिनी नखः गरि घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पुजा लिएर मन्दिर जानै पर्ने परम्पराका कारण दिनभर हजारौको भीड लाग्ने गर्दछ ।
ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजनहरू आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ ।
गाँठेमंगलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक खःमेय अर्थात राँगोलाई हिजा साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउदै, लखेट्दै ब्रम्हायनी मन्दिर पुर्याएर बद्य गरेपछि रातीदेखि नै यो जात्रा सुरु भएको थियो ।–––
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

