बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुरको बिकासमा एमालेको बिकल्प आम जनताले खोजेका छैनन् : महेश बस्नेत

भक्तपुरको बिकासमा एमालेको बिकल्प आम जनताले खोजेका छैनन् : महेश बस्नेत



भक्तपुर, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटव्यूरो सदस्य, पूर्वमन्त्री एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले भक्तपुरका जनताले बिकासमा एमालेको बिकल्प नखोजेको बताउनु भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ५ मा चक्रपाणी चोकमा आज एमाले क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेश स्तरीय आमसभालाई सम्बोधन गर्दै उहाँले भक्तपुरको बिकासमा एमालेको बिकल्प आम जनताले खोजेका छैनन् भन्नु भयो । उहाँले उहाँले अब भक्तपुरले सिंहदरबारलाई छुने मात्र नभई सिंहदरबारको नेतृत्व गर्ने गरि जनताको साथ लिएर अगाडि बढ्ने बताउनु भयो ।

भक्तपुरका जनता सचेता हुनुहुन्छ, एमालेले विगतमा गरेकोे विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्नुहुनेछ भन्दै अब कसलाई प्रधानमन्त्री बनाउने भन्ने बुझेर मतदान गर्न आग्रह गर्नु भयो । भक्तपुरका जनतालाई बिकास हुनेमा ढुक्क भएर बस्न आग्रह गर्नु भएको छ ।

निवर्तमान सांसद समेत रहनु भएका नेता बस्नेतले एमालेले चुनाब जित्ने र बिकास हुनेमा ढुक्क हुन आग्रह गर्नु भएको हो ।
उहाँले भक्तपुर क्षेत्र नं. २ मा काँग्रेसले दुई पटक चुनाब जितेर १५ वर्ष संसदमा भाग लिए पनि बिकासका के काम गरे भोट माग्न आउनेलाई सोध्न आग्रह गर्दै उहाँले भन्नुभयो, “१५ वर्ष काँग्रेसले संसदमा प्रतिनिधित्व गर्यो, खै के काम गर्यो ? तपाईहरु सोध्नुस्, तीन वर्ष केपी ओली नेतृत्वको सरकार बन्दा भक्तपुरमा २६ अर्ब बजेट ल्यायौ, तर गठबन्धन सरकारले डेढ वर्षमा खै कति बजेट ल्यायो, के काम गर्यो ? सोध्नुस् ।”

नेता बस्नेतले एक वर्ष अघिसम्म जताततै शिलान्यास र उद्घाटन गरिरहेका स्मरण गराउदै अहिले खै गठबन्धन सरकारले कहाँ बजेट ल्याएर शिलान्यास र उद्घाटन गरेको भन्दै प्रश्न गर्नु भयो । एमालेको सरकारको पालामा ल्याएको बजेटबाट अहिले पनि यस क्षेत्रका बिभिन्न सडक कालोपत्र, ढलान हुने काम भइरहेको बताउनु भयो ।

हामीले ल्याएको बजेटको काम अहिले पनि गरिरहेका छौँ, भन्दै उहाँले भक्तपुरको बिकासको नाममा एक कौडी पनि बजेट ल्याउन नसक्ने र भक्तपुरमा जिरो बिकास गर्नेले एमालेलाई चुनौती दिने ? भन्दै उहाँले प्रश्न गर्नु भयो ।
एमाले नेता बस्नेतले भन्नुभयो, “चिन्ता लिनु पर्दैन, केपी बाँ छन्, महेश दाई छन्, जनताको सुरक्षा हुन्छ, विकास हुन्छ, अधूरा काम पुरा हुन्छ, भक्तपुर सम्बृद्ध हुन्छ, तपाईहरु ढुक्क हुनुहोस् ।”

यो पनि पढ्नुहोस  मेडिकल कलेजमा सहज वातावरणमा भर्ना र पठनपाठन गराउन ७ विद्यार्थी संगठनहरुकोे माग

एमाले फेरी जनताको बीचमा आएको बताउदै उहाँले एमालेले पाँच वर्षमा गरेको काम हेरेर त्यसको मूल्यांकन गरेर भोट दिन आग्रह गर्नु भयो । गाउँ गाउँको बाटो फराकिलो पारेर कालो पत्र गरेको सन्दर्भ कोट्याउदै उहाँले घरदैलोमा जादासमेत यहाँका जनताले अरुले जस्तो झा्यालतिर, ढोकातिर हेरेर नमस्ते गर्नु पर्दै बोटो हेरेर नमस्कार गरे पुग्छ, यहाँको बाटो र बिकास हेरेर हामी भोट दिन्छौ भनेर मतदाताले भनेको चर्चा गर्नु भयो ।

आजको आमसभामा भेला भएका तीन हजार जनताले १० भोटको मात्रै जिम्मेवारी लिएपनि यस क्षेत्रमा ३० हजार भोट आउने बताउदै उहाँले भन्नुभयो, “विपक्षी दलहरु हामीसँग प्रतिस्पर्धा गर्न आइरहेका छैनन्, पछिपछि आइरहेका छन्, त्यो पनि धेरै टाढाको, यसो निहुरिएर हेर्नु पर्छ । त्यसैले अचेल एमाले दुबोसरी मौलाउदै छ, विपक्षी बौलाएको छ भन्ने चर्चा सुरु भएको छ ।” विपक्षीले गलत आरोप लगाउने गरेको भन्दै उहाँले त्यसको पुष्टी गर्ने क्षमता राख्न सक्नु पर्ने नसेक जनताले चुनाबमा भोटै नदिएर सजायँ दिने बताउनु भयो ।

एमाले सरकारले बिकास दियो, काँग्रेस नेतृत्व गठबन्धन सरकारले के दियो ? भन्दै उहाँले गठबन्धन सरकारले जनतालाई केपी ओली सरकारको पालामा भन्दा पेट्रोलमा दोब्बर मूल्य दियो, निर्माण सामग्रीमा दोब्बर मूल्य दियो, खाने तेल, दाल, चामलमा दोब्बर मूल्य दियो, विदेशबाट फर्किएका युवालाई एमालेले स्वदेशमै व्यवसाय सुरु गर्न सहुलियत ऋण दियो, तर गठबन्धन सरकारले आफै लियो, ओलीको पालामा ६ प्रतिशत ब्याजमा पाइने उद्यमी ऋण अहिलेको सरकारले १८ प्रतिशत पुर्यायो, बैंकसँग पैसा छैन, सहकारी डुब्न लागे, ब्यापार घाटा बढेको बढ्यै छ, अहिलेको सरकारले जनतालाई यो बाहेक के दियो ?” उहाँले प्रश्न गर्नु भयो ।

विगत पाँच वर्षको कार्यकालमा संघीय, प्रदेश र स्थानीय सरकारबाट ल्याएको बजेटबाट भक्तपुरको बिकास सम्भव भएको भन्दै नेता बस्नेतले भक्तपुरमा अबको कार्यकालमा सामान्य खालका बेसक होइन ठूला पूर्वाधारका एडभान्स बिकास गर्ने, नीति, निर्माणमा राम्रा सुझाब लैजान वडा वडामा बौद्धिक समूह गठन गर्ने, महिलालाई जनताको सरोकारका कामसँग जोड्न वडा वडामा महिला समूह बनाउने, बाँकी रहेको सडक, पुल, खानेपानी, ढल, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सामुदायिक भवन, विद्यार्थीका लागि ईलाइब्रेरी, रंगशाला, कबर्ड हल, अन्तर्राष्ट्रिय सभा हल, औद्योगिक क्षेत्रको स्थापना, हनुमन्ते, मनोहरा करिडोर निर्माण, प्राणी उद्यान निर्माण, बीर अस्पताल निर्माण, काटेश्वर जडिबुटी सुरुङ्ग मार्ग निर्माण, सूर्यविनायक धुलिखेल ६ लेन सडक निर्माणलगायतका कामहरु सम्पन्न गर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  आगामी बजेट १९ खर्ब ६४ अर्ब

संघीय सरकारबाट मात्र २६ अर्वभन्दा बढी बजेट ल्याई सडक, ढल, खानेपानी, विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुललगायतका साना तथा ठूलो आयोजनाहरु सञ्चालन गरिएको जानकारी गराउँदै उहाँले बजेट समयले ल्याएको हो भन्ने कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको सरकारको १८ महिनामा कति बजेट ल्याउन सफल हुनुभयो ? भनि प्रश्न गर्नुभयो ।
एमालेको नेतृत्वको सरकारले महंगी, भ्रष्टाचार, कमिशनखोर, अनियमितता लगायतका कुराहरु नियन्त्रण गरी शुसासन कायम गरेको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको समयमा युवाहरुलाई आत्मनिर्भर तथा रोजगारीको वातावरण सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न असंख्य योजनाहरु कार्यान्यवनमा ल्याएको विस्तारमा उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारले प्रधानमन्त्री रोजगार, विभिन्न ९ वटा शिर्षकमा सहुलियत दरमा विना धिता ऋण, राष्ट्रिय गौरवका अयोाजना सञ्चालन, मेलम्चीको खानेपानी, धरहरा, रानीपोखरी, विमानस्थल, रेल, जलमार्गको शुरुवात, शुरुङ मार्गको निर्माण, फलाम खानीको उत्खनन् गर्न शुरु, मदन भण्डारी राजमार्ग, हुलाकी सडक, चुच्चे नक्सा जारी लगायतका असंख्य कामहरु हाम्रो ‘बा’ले गर्नुभयो । तिम्रो ‘बा’ले के गर्नुभयो । कांग्रेसको नेतृत्वमा १५ वर्ष भक्तपुरको जिम्मेवारी हुँदा संसदमा भक्तपुरका कतिवटा विषयमा आवाज उठाए ?, बिकासको बजेट कति आयो, १५ वर्षमा गरेको पाँच वटा कामहरु मात्रै देखाउनु ?, अनि एमालेसँग बिकासको हैसियतका कुरा गर्नु, नत्र आरोप लगाउनुको अर्थ छैन ।”

उहाँले भन्नुभयो, ‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र हैन, देशै भर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माका कार्यहरु भएका थिए । वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ । विकासको सुनसान छ, चालु आयोजनाहरु समेत बन्द भएका छन् ।

आफ्नै सरकारले घोषणा गरेको मंसिर ४ को चुनाबको मिति समेत बिर्सिएर प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अघि एक कार्यक्रममा मंसिर ६ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने चुनाबमा मतदान गर्न अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले चुनाबको मिति समेत बिर्सनेलाई भोट दिएर फेरी प्धानमन्त्री बनाउने कि बिकास गर्ने ओलीलाई त्यो जिम्मा जनताको हातमा रहेको बताउनु भयो ।

अहिलेको गठबन्धन सरकारले नागरिकता विद्येयक ल्याएर विदेशीलाई नागरिकता बाड्दै लेण्डुप दोर्जे बनाउन लाग्दा एमालेले रोकेको, एसएसपी लागू गरेर महाशक्ति राष्ट्रहरुको अंग बन्नबाट रोकेको, ओलीले ल्याएको चुच्चे नक्सालाई बुच्चे बनाएको, भारतले नाकाबन्दी गर्दा नाकाबन्दी भो भन्नसमेत नसकेको व्यक्तिलाई फेरी सत्ताको दिए नेपालको हालत के हुन्छ, त्यसलाई मतदाताले गम्भिर भएर सोच्नु पर्ने औल्याउनु भयो ।

यो पनि पढ्नुहोस  भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा

सभामा बस्नेतले भन्नुभयो, “देशमा प्राकृतिक प्रकोप आउँदा काँग्रेस कहाँ थियो, २०७२ सालमा भूकम्पले भक्तपुर ध्वस्त हुँदा काँग्रेस कुन दुलोमा थियो, हनुमन्तेको बाढीले मध्यपुरथिमि डुबाउँदा काँग्रेस कहाँ थियो, कोरोनाको महामारी फैलिरहदाँ हामी जनसेवामै लाग्ने क्रममा मलाई तीन पटक, प्रदेशका उम्मेदवार किरण थापालाई दुई पटक, सूर्यविनायकका मेयर बासुदेव थापालाई दुई पटक कोरोना भयो, र पनि हामी महामारीसँग जुधेर जनताको सेवामा लागिरहयौँ, त्यतिखेर काँग्रेस कहाँ थियो, भक्तपुरको बिकासका लागि बजेट ल्याउन बिभिन्न मन्त्रालय धाउँदा २६ अर्ब बजेट आउँछ ।”

काँग्रेसका नेतालाई चुनाब आएपछि नाता सोझ्याउने मेसो आएको व्यंग गर्दै उहाँले भन्नुभयो, “३० वर्षसम्म आफ्नो को नाता, कता छन्, थाहा छैन, आज चुनाब आएपछि आमाको नाता, दिदी, भिनाजु, छोरी, मामा, माइजु, भएभरका नाता खोज्दै लौन भोट हाल्न भनिदिनु पर्यौ भन्दै दौडनुको अर्थ नभएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा क्षेत्र नं.२ प्रदेश ‘क’ का उम्मेदवार किरण थापाले एमालेले जिल्लामा विकासको लहर ल्याएको चर्चा गर्दै गठबन्धन जनतालाई झुक्याउने काम मात्र गरिरहेको बताउनु भयो । आफु पनि केही गर्न नसक्ने अनि एमालेलाई पनि विभिन्न लान्छना लगाई जनतालाई भ्रममा पार्न कोसिश नगर्न गठबन्धनलाई चेतावनी दिँदै उम्मेदवार थापाले लान्छना लगाउनुभन्दा पहिले प्रमाणीत गरेर देखाउनु चेतावनी दिनुभयो ।

आफहुरु निर्वाचित भएपछि एमाले नेतृत्वले शुरु गरेको चालु आयोजनाहरु सम्पन्न गराउने उल्लेख गर्दै उहाँले जनताका अहिलेका खानेपानी सडक कालोपत्रे, ढल लगायतका मागहरु एकवर्ष भित्रमा पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, केन्द्रीय सदस्य निर्मल कुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार गोविन्द प्रसाद दुलाल, प्रदेश सभानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित