भक्तपुर, : बिहानको ६ बजेको चिसो तुषारो । जाडोले थरथर कमाउने शरीर । दुईघरको चेपुवामा रहेको साँघुरो गल्लीमा लामबद्ध सेवाग्राही । अगाडि कालोपत्र सडकमा दायाँबायाँ सवारी साधनको पार्किङ्ग । त्यही सडकमा सेवाग्राहीको अर्को लाइन ।
मध्यपुरथिमि नगरपालिका–७ राधेराधेस्थित यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) भक्तपुरमा सेवा लिन आज बिहान ६ बजेदेखि लामबद्ध सेवाग्राहीको अबस्थाको दृश्य हो यो । यस्तो दृश्य आज बिहानको मात्रै होइन, यातायात कार्यालयमा सवारी चालक अनुमति पत्रका बिभिन्न सेवा लिन आउने सेवाग्राहीको दैनिक देखिने दृश्य हो ।
पुसको कठाग्रिदो जाडोको पर्वाह नगरि काठमाडौं उपत्यकादेखि सिन्धुपाल्चोकसम्मका सेवाग्राहीहरु दिनरातनै माया मारेर नयाँ सवारी चालक अनुमति पत्र, नविकरण, लिखित परीक्षा, प्रतिलिपी, स्वास्थ्य परीक्षणलगायतका सेवा दिने यस कार्यालयमा सधै हुने सेवाग्राहीको भीड कोलाहालले यहाँका स्थानीयवासीसमेत दिक्क भएका छन् ।
वाग्मति प्रदेशका १३ जिल्लाका सेवाग्राहीले सेवा लिने यस कार्यालयमा लिखित परीक्षाका दिन जाडोको पर्वाह नगरी बिहान पाँचबजेदेखिनै सेवाग्राही लाइनमा बस्ने गरेका छन् । बिहान ६ बजे सेवा लिन लाइनमा बस्नु भएकी सिन्धुलीकी रुपा खड्काले दुईदिनदेखि लाइन बसेर पनि सेवा नपाएको गुनासो गर्नु भयो । उहाँले हिजो पनि १२ बजे सर्भर डाउन भएको सूचना निकालेर सेवाग्राहीलाई फर्काएको र आज पनि बिहानैदेखि लाइन बसेपनि फेरी सर्भरमा समस्या आयो भनेर सेवा प्रवाहनै रोकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “यस्तो चिसोमा बिहानैदेखि लाइन बसेका छौँ, यस्तो साँघुरो ठाउँमा कार्यालय राखेको छ, त्यो पनि दिनभरी लाइन बस्दा पनि सेवा पाइदैन । एउटै सेवा लिन चार ठाउँमा लाइन बस्नु पर्छ, एकै दिनमा सबै सेवा लिन सकिन्न, यहाँ आफन्तको घरमा आएर बसेको छु, सरकारले कहिले दिन्छ सहज सेवा ?”
खड्काको यो प्रतिनिधि प्रश्न मात्रै हो । यातायात कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका सकस यहाँ भोग्नेलाई मात्रै थाहा हुन्छ । स्थानीय व्यापारी सनोजकुमार श्रेष्ठले बिहान पाँचबजेदेखि सेवाग्राही लाइनमा बसेर सेवा नपाएको देख्दा अचम्म लाग्ने गरेको बताउनु भयो ।
“बिहान कार्यालय खुलेपछि हुने भीडभाड, बिचौलियाको चलखेल, लाइनमा बस्नेको पीडा, एउटै व्यक्ति कोठा कोठा धाएको हामी दैनिक देख्नेलाई त दिक्क लाग्न भने भोग्ने सेवाग्राहीलाई कस्तो हुदोँ हो ।”, उहाँले भन्नुभयो, “हामी कस्तो राज्यका नागरिक हौँ, पैसा तिरेर सेवा लिन पनि सधै सकस ।” कार्यालय अगाडि दैनिक हुने होहल्लाले स्थानीयवासी पनि आजित भएको बताउनु हुन्छ उहाँ ।
बिहानैदेखि लामो लाइनमा बसेका सयौँ सेवाग्राहीले सेवा नपाएर बिचल्लीमा परेपछि सेवाग्राहीले कार्यालय अगाडिनै नाराबाजी गरेका छन् । अनलाइन फाराम भरेर आजका लागि बोलाइएका सेवाग्राहीहरु बिहानैदेखि लाइन बसेर फर्किन बाध्य भएपछि बिरोध गर्दै नाराबाजी गरेका हुन् ।
सेवा लिन काभ्रेपलाञ्चोक पनौती नगरपालिका–५ देखि बिहान ७ बजे लाइनमा बस्नु भएकी कबिता केसीले यातायात कार्यालयले दिने सास्ती प्रति आक्रोस व्यक्त गर्दै भन्नुभयो, “यस्तो चिसोमा बिहान सात बजेदेखि नै लाइनमा बसियो, म भन्दा अगाडि ६ बजेदेखिनै लाइनमा बस्ने ५० जनाजति थिए, १० बजेदेखि सेवा प्रवाह गर्नु पर्ने हुन्छ, तर सेवा अबरुद्ध हुँदा पनि एकछिनमा हुन्छ भनेर पर्खाइयो, दिन सकिए पछि सर्भर डाउन भो भनेर सूचना पो टाँस्छ, अनि कति पीडा हुन्छ हामीलाई, हाम्रो दिन यत्तिकै खेर गएन ?”
सेवा लिन काभ्रेका बनेपादेखि आउनु भएका राजेश श्रेष्ठले उस्तै गुनासो गर्नु भयो । बिहान ६ः३० बजेदेखि लाइनमा बसेपनि कार्यालयले सेवा नदिएको भन्दै सेवाग्राहीले नाराबाजी गर्नु परेको बताउनु भयो । कार्यालयले हिजो सोमबार पनि बिहानैदेखि लामबद्ध सेवाग्राहीलाई सर्भर चलेन भन्दै फर्काएको थियो भने आज पनि सर्भर डाउन भो भनेपछि सेवालिन आएका सेवाग्राही निकै मर्कामा परेका हुन् ।
कार्यालयले सूचना जारी गर्दै भनेको छ, “प्रबिधिमा आएको खराबीका कारण कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवाहरु आजका लागि सञ्चालन नहुने भएकाले आज दिएको सेवा लिन आउँदो २१ गते बिहिबारका लागि सारिएको जानकारी गराउदछौँ ।”
कार्यालयका प्रमुख शिवकुमार निरौलाले सर्भरमा समस्या आएर सेवा प्रभावित भएपछि सेवाग्राहीले हुलदंगा गरेको बताउनु भयो । उहाँले सेवाग्राहीले नाराबाजी गर्दै हुलदंगा गर्न थालेपछि बिहिबारका लागि आउन सूचना जारी गरेको बताउनु भयो । उहाँले यो समस्या भक्तपुरमा मात्र नभई सबैतिर भएको बताउनु भयो । कार्यालयले नयाँ सवारी चालक अनुमति पत्र, परीक्षा, नविकरणलगायतका बिभिन्न सेवाका लागि दैनिक एक हजार ५०० जनालाई सेवा दिदै आएको प्रमुख निरौलाले बताउनु भयो ।
सर्भर डाउन हुँदा हिजो र आज यातायात व्यबस्था कार्यालयहरु भक्तपुर, सानोभ¥र्याङ, सुकेधारा, गुर्जुधारालगायत देशभरका बिभिन्न कार्यालयमा सेवा प्रभावित भएको छ । यातायात व्यबस्था कार्यालयमा हरेक दिन बिहानै ६ बजेदेखिनै सेवाग्राहीहरु लाइनमा बस्ने गरेका छन् भने कार्यालय समयसम्मनै सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएकै दिन बसेको पहिलो मन्त्रिपरिषद् बैठकले राहदानी लाइसेन्स लगायत सेवामा लाइन बस्न नपर्ने गरि व्यवस्था गर्ने निर्णय गरेको भएपछि समस्या जस्ताको तस्तै छ । राहदानीको समस्या समाधान गर्न समिति गठन भए पनि लाइसेन्सका लागि अहिलेसम्म कुनै पहल भएको छैन ।
देशभरको यातायात व्यबस्था कार्यालयका सर्भर संघीय सरकार अन्तर्गतको यातायात व्यवस्था विभागको नियन्त्रण छ भने प्रदेश सरकार अन्तर्गतका यातायात कार्यालयहरुले यो सर्भरको प्रयोग गर्दै आएका छन् । यातायात व्यवस्था विभागकै कमजोरीका कारण आफूहरुले बारम्बार सेवाग्राहीको अपजस भोग्नुपरेको गुनासो कार्यालय प्रमुखहरुले गर्दै आएका छन् ।

