भक्तपुर, ४ भदौ : मध्यपुरथिमि नगरपालिका २ सानोठिमीस्थित बाल सुधार गृहको मुख्य गेट तोडफोड गरि फरार भएका बालबन्दी र प्रहरीबीच झडप हुँदा २२ जना घाइते भएका छन् ।
प्रहरीले तीन राउण्ड गोली चलाउदा दुई जना बालबन्दीलाई गोली लागेर घाइते भएका छन् । आज भएको उक्त घट्नामा नेपाल प्रहरीका प्रहरी निरीक्षकसहित १० जना, शसस्त्र प्रहरीको आठ जना घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।
बन्दीको आक्रमणबाट घाइते प्रहरी निरीक्षक सञ्जिव ओलीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाचिनुका साथै शरीरका बिभिन्न अंगमा चोट लागेको छ । बन्दीतर्फ १० जना घाइते भएका छन् । ती मध्ये दुई जनालाई गोली लागेको छ । गोली लागेको मध्ये गम्भिर घाइतेको बीर अस्पताल ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घाइतेको भक्तपुरको नागरिक कम्युनिटी अस्पताल, मध्यपुर अस्पताल बीर अस्पताल, त्रिबि शिक्षण अस्पताललगायत उपत्यकाका बिभिन्न अस्पतालमा उपचार भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
बाल सुधार गृहमा रहेका ४३ जना केटी र २५६ जना केटा गरि २९९ जना बालबन्दी रहेको सुधार गृहको गेट तोडफोड गरेर २२१ जना फरार भएका थिए । भक्तपुर र काठमाडौंका बिभिन्न ठाउँबाट गरि हाल २०४ जनालाई प्रहरी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो । थप २७ जना टेलिफोन सम्पर्कमा आइसकेको उहाँले जानकारी दनुभयो । सम्पर्कमा आएकाहरु पनि रातभरीसम्ममा नियन्त्रणमा आउने दाबी गर्नुभयो ।
बाल सुधार गृहभित्र प्रशासनले बिभेद गरेको भन्दै बन्दीले नाराबाजी गर्दै गर्दै घरेलु हतियार लिएर बाहिर निस्के पनि सुधार गृह भित्र रहेका ४३ जना बालिका बन्दी र केही पुरुष बन्दी भने बाल सुधार गृह भित्रै बसेका उहाँले जानकारी दिनुभयो ।
बन्दीले गेट तोडफोड गरेर बाहिर निस्कदै घरेलु हतियार र ढुङ्गा प्रहार गरि प्रहरी माथिनै आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर प्रहरीले तीन राउण्ड गोली चलाउनु परेको उहाँले जानकारी दिनुभयो । गोली लागेर दुई बन्दी घाइते भएका छन् ।
गेट तोडफोड गरेर बाहिर निस्केको बालबन्दीले सुधार गृहलगायत नजिकैको यूसेप कार्यालयमासमेत तोडफोड गरेका छन् । तोडफोडबाट कति क्षति भयो भन्नेबारेमा यकिन भइनसकेको यूसेपका कार्यकारी निर्देशक केशव सुवालले जानकारी दिनुभयो ।
सुधार गृहबाट बाहिर निस्कने क्रममा बन्दीले लाठी, भाला, खुकुरी, चक्कुलगायतका घरेलु हतियार लिएर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रजिअ खरेलले जानकारी दिनुभयो । सुधार गृहभित्र औषधि, खाना, पानीलगायत बिभिन्न कुरामा दैनिक विभेद हुने गरेको भन्दै बाल बन्दीहरु आक्रोसित बनेको एक बालबन्दीले बताए ।
यसरी भयो आजको घट्ना :
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रजिअ रिजालको अध्यक्षतामा आइतबार मृतक परिवारसँग बसेको बैठकले घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानविन गरी प्रतिवेदन पेश गर्ने, जम्मेवारी तोकेको थियो । मृतकका परिवारको माग बमोजिम नै घट्नाबारे सत्यतथ्य अनुसन्धान गर्ने, शवको परीक्षण गर्ने, त्यसको रिपोर्ट हेर्ने, क्षतिपूर्तिको लागि माथिल्लो निकायमा लेखि पठाउने र आज घट्नाकाबारेमा प्रहरीमा जाहेरी दिने सहति भएको थियो ।
मृतक परिवारसँग भएको सहमति अनुसार आज जाहेरी लिन प्रहरी तयारीमा बसेको थियो । आजको घट्नाबारे जानकारी दिदै प्रजिअ रिजालका अनुसार मध्यान्हसम्म पनि मृतक परिवार जाहेरी दिन नआएपछि सहायक प्रमुख जिल्ला अधिकारीले मृतकका आफन्तलाई जाहेरी दिन आउन आग्रहसमेत गर्नु भएको थियो ।
प्रहरी र प्रशासनलाई जाहेरी दिन आउँछौँ भन्दै गरेको मृतकका आफन्त अचानक आज मध्यान्ह पछि बाल सुधार गृह गएर नाराबाजी गर्दै सुधार गृहभित्र्रै प्रवेश गरेपछि स्थिति तनाबग्रस्त बनेको उहाँले जानकारी दिनुभयो ।
त्यसलगत्तै बन्दीले भित्रैबाट नाराबाजी गर्दै गृहको भान्छामा रहेको खुकुरी, चक्कु, लाठी, भाला लगायतका हतियार लिएर निस्केर बाहिर सुरक्षार्थ खटिएका प्रहरीमाथि जाईलागे । एकैपटक एकसय भन्दा बढी बन्दी निस्केर प्रहरीलाई लखेटेका थिए । सानोठिमीका प्रतक्ष्यदर्शीका अनुसार हातमा घरेलु हतियार लिएर बन्दीले सानोठिमी एसओएससम्म लखेटेका थिए ।
प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति अनियन्त्रित भएपछि प्रहरीले तीन राउण्ड गोली चलाएको र दुई बन्दी घाइते भएकोमा बीर अस्पतालमा उपचार भइरहेका एकको अबस्था गम्भिर रहेको बताईएको छ । बन्दीले समूहमै नाराबाजी गर्दै पैदलै काठमाडौं गएका थिए, कोही त्यतैबाट भागेका थिए । यूसेपका अनुसार कोही बन्दी भने फर्किएर सुधार गृहमै आएका थिए ।
आजको घट्नामा मृतक बस्नेतका आफन्तको लापर्वाही, सहमति विपरितको कदम भएकाले उनीहरु माथि थप छानबिन गरि दोषी हठरिए उनीहरुलाई समेत कारबाही हुने भएको छ । बन्दीलाई भड्काउने, उस्काउनेलाई कारबाही गर्न बन्दीका आफन्तबाटै माग भएको बताइएको छ ।
यसरी भएको थियो घट्नाको सुरु :
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा जबरजस्ती करणी अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएको रामेछापको मन्थली नगरपालिका(३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान मृत्यु भएपछि बाल सुधार गृह तनाबग्रस्त बनेको थियो । शनिबारदेखिनै ज्वरो आएपछि परिवारलाई खबर गरेको र राती सिटामोल खाएर सुतेपनि बिहान बिहोस पाईएपछि नागरिक अस्पतालमा उपचारका लागि लैजादा अस्पतालले मृत्यु भएको जानकारी गराएको थियो ।
बस्नेतको मृत्यु पछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट नाराबाजी गर्दै भित्रै पसेपछि हिजोपनि सुधार गृहको स्थिति तनाबग्रस्त बनेको थियो । मृतकका अफन्तले घट्नाको निष्पक्ष छानबिन गर्नु पर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
मृतकको बाँया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखिनै आँखामा समस्या रहेको र ज्वरो आएको प्रहरीको भनाइ थियो । सुधार गृहले परिवारलाई मृत्यु भएको खबर दिएपनि मृत्युको कारण प्रष्टसँग जानकारी नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी बृत्त थिमिको प्रहरी निरीक्षकले टोलीले पीडित पक्षमाथि दुव्र्यवहार गरेको आफन्तले आरोप लगाएका थिए । उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घट्नाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ती दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयमा भएको सहमति हिजो साँझ घट्नाले सहज रुप लिएपनि आज दिउँसो सहमति विपरित मृतकका आफन्त फेरी सुधार गृह गएर नाराबाजी गरेपछि अबस्था नियन्त्रण बाहिर आएको प्रहरीको भनाइ छ ।

