आइतवार, अशोज २७, २०८१ | Sun October 13, 2024


अनेमसंघको भव्य तीज, एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले सकुन्जेल देश बनाउने हो, खुसी ल्याउने हो’

अनेमसंघको भव्य तीज, एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले सकुन्जेल देश बनाउने हो, खुसी ल्याउने हो’



भक्तपुर, २३ भदौ । अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आज गठ्ठाघरमा शुभकामना आदान प्रदान तथा हरितालिका तीज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको उक्त कार्यक्रममा आफूहरुले सकुन्जेल देश बनाउने बताउनु भयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका एमाले अध्यक्ष ओलीले भन्नुभयो, “हामीले सकुुन्जेल हामी देश बनाउँछौँ, हामीले नसकेको अब तिमीले बनाउनु पर्छ भनेर घरका बाबुनानीलाई भन्नुपर्छ ।” आफ्नै घर, टोल, समाज अनि देशमा खुसी चाहिन्छ, खुसी सापटी माग्ने होइन, ल्याउनु पर्छ भन्दै उहाँले भन्नुभयो, “हामीले आफैले आफ्नो खुसी ल्याउनु पर्छ, अरुसँग सापटी खोजेको खुसी काम लाग्दैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफैले ल्याउनु पर्छ, हाम्रो खुसी अरुले ल्याउदैन, खुसी आउँछ, ल्याउनु पर्छ, त्यो दिन आउँछ, अरु कसैले ल्याउदैन, हामी आफै ल्याउँछौँ ।”

मानिस खुसी भएर मुस्कुराएको, अझ बच्चा बच्चीहरु खुसी भएर मुस्कुराएको क्षण साह्रै आनन्द लाग्ने क्षण हो भन्दै उहाँले खुसी देख्न नसक्नेहरुसँग सचेत हुदै सबै खुसीले मुस्कुराउने अबस्था ल्याउनु पर्ने बताउनुभयो ।

उहाँले सबै जातजाति एकै ठाउँमा बसेर सामुहिक रुपमा चाँडपर्व मनाउदै आएको हाम्रो देशमा अहिले त्यस्तो सामुहिक एकता देख्न नसक्ने तत्वहरु सल्बलाइ रहेको बताउनु भयो । उहाँले जातजाति, भाषाभाषि, धर्म, संस्कृति, पर्व, चाँडबाँडका नाममा सदियौदेखि कायम रहदै आएको एकतालाई भाड्ने तत्व सक्रिय रहेको बताउनु भएको हो ।

यस्ता चाँडबाड मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारीका खोला पारीका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्नेहरु सलबलाएका छन्”, एमाले अध्यक्ष ओलीले भन्नुभयो, “यसरी सबै जातजातिका मानिसहरु मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरु, साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुसँग सचेत हुनुपर्छ ।”

यो पनि पढ्नुहोस  इन्टरनेटले बालबालिका यौनदुर्व्यवहारमा

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउनेहरु, झगडा गराएर मारामार गर्न गराउन खोज्नेह एकता बिरोधीहरुसँग सचेत हुदै यस्ता साझा चाडपर्वहरु उत्सवको रुपमा मनाउनु पर्ने उहाँले बताउनुभयो । एमाले अध्यक्ष ओलीले हामी आफै आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्दै हाम्रो देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तुलसा दाहालले तीजकाबारेमा आफ्नो धारणा राख्नु भएको थियो । त्यसअवसरमा एमाले केन्द्रीय सदस्यद्धय सोमप्रसाद मिश्र, निर्मलकुमार भट्टराई, एमाले जिल्ला अध्यक्ष बचन देउजा, वागमति प्रदेश सभा सदस्य किरण थापा, सकुन्तला श्रेष्ठलगायतका जिल्ला तथा बिभिन्न भातृ संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीका अध्यक्ष दीपा अधिकारीले सबै जातजाती एकै ठाउँमा बसेर रमाउदै तीजलाई साझा पर्वका रुपमा मनाउन लागेको बताउनुभयो । कार्यक्रममा बिभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गर्दै मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रर्दशन गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित