ललितपुर, १६ असोज । बाढीमा बगिरहेकाको उद्धार गर्ने चनिकलाल तामाङलाई ललितपुर महानगरले १ लाख नगद सहित पुरस्कृत गरेको छ । ललितपुर महानगरले नख्खु खोलामा आएको बाढीमा परेका दुई जनालाई उद्धार गर्ने चनिकलाल तामाङलाई सम्मानसहित पुरस्कृत गरेको हो ।
बुधबार महानगरमा आयोजित कार्यक्रममा तामाङलाई नगर प्रमुख चिरीबाबु महर्जनले एक लाख नगदसहित सम्मानपत्र प्रदान गरे । महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
नगर प्रमुख चिरीबाबु महर्जनले चनिकलाल तामाङको बहादुरीको प्रसंशा गर्दै भने, ‘ तपाईले गर्नु भएको कामको जुन शब्दले प्रसंशा गरे पनि पुग्दैन, नगरबासी र नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद । ’ नगर प्रमुख महर्जनले चनिकलालले गरेको काम मानवताको उत्कृष्ट र अतुलनीय नमूना भएको बताए । चनिकलालले असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उद्धार गरेका थिए ।

