काठमाडौं, १३ पुस । पीडितलाई सामाजिक संजाल फेसबुक मार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरि घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधी खुवाइ लुटपाटको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल घरभई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डल छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले शुक्रबार मण्डललाई सार्वजनिक गरेको हो । मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोट पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो । उनको साथबाट ५९ हजार ३ सय ६० रूपैयाँ र मोबाइल तीन थान बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पीडित व्यक्ति मधुमेहका रोगी थिए । उनी सामाजिक सञ्जाल फेसबुकमार्फत नक्कली डाक्टर मण्डलसँग साथी बने । मण्डलले आफू डाक्टर हुँ भनी भेटघाट एवं चिनजान गरी उपचार गर्ने भनेर पीडितका घरमा पुगेका थिए ।
उपचारका नाममा उनले बेहोस हुने औषधि खुवाई बिरामीलाई बेहोस पारेर कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहना र नगद ३ लाख रूपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार नै चोरीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको प्रहरीले जानकारी दिएको छ ।

