काठमाडौं, २१ पुस । काठमाडौं उपत्यकाको दीर्घकालीन सोच निर्धारण तथा बृहत्तर भौतिक विकास गुरुयोजना तर्जुमाबारे कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले काठमाडौं उपत्यकाको गुरुयोजना छिटै कार्यान्वयन गर्न सक्ने गरी जानुपर्ने बताउँदै स्थानीय तहको सहभागिताबिना योजना सफल नहुने बताएका छन्। काठमाडौं उपत्यका विश्वकै आकर्षक ठाउँको रुपमा विकास गर्न सकिने भन्दै मन्त्री अधिकारीले उपत्यकाको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्नेतर्फ जोड दिए । उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन योजना बनाएर अगाडि बढ्न सरकार तत्पर रहेको बताउँदै उनले उपत्यकाका संस्कृति र सभ्यताहरुलाई संरक्षण गर्नेतर्फ पनि प्राधिकरणले विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेश भौतिक विकासमन्त्री अमनकुमार मास्केले गुरुयोजना कार्यान्वयन गर्न अब ढिलाइ गर्न नहुने भन्दै संघ प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक भएको बताएका छन् । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकाको गुरुयोजना धेरै पटक बनिसकेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी रुपमा हुन नसकेको बताउँदै गुरुयोजना निर्माणमा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सहभागी गराउनुपर्ने बताए । उपत्यका विकास गर्ने सन्दर्भमा कुनै पनि अध्ययनले यहाँका सम्पदाहरुमा हस्तक्षेप गर्नु हुँदैन भन्दै मेयर महर्जनले पाँच वर्षमा उपत्यकमा देखिने गरी यातायात व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले भक्तपुरको आवास योजनाबारे आफूले अध्ययन अनुसन्धान गरेको बताउँदै भौतिक विकास मात्र विकास नभई गुणस्तरीय जीवनको पनि सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
त्यस्तै, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित र जथाभावी निजी प्लानिङलाई स्वीकृति दिएका कारण काठमाडौं उपत्यकाका वातावरण नराम्रोसँग बिग्रिसकेको बताए । उनले जथाभावी प्लानिङ गर्दा वर्षाको समयमा खोलामा पानीभन्दा बढी माटो बग्ने गरेको बताउँदै उपत्यका विकास प्राधिकरणले अव्यवस्थित प्लानिङलाई नियन्त्रण गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । प्रमुख प्रजापतिले स्थानीय तहहरुलाई स—साना आवास योजनाहरु सञ्चालन गर्न नेपाल सरकारले आर्थिक र प्राविधिक सहयोग गर्नु आवश्यक भएको बताउँदै भक्तपुर नपाले १ हजार ६५३ रोपनी जग्गामा देको मिवा इतापाके आवास योजना सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु धमला, शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, राष्ट्रिय योजना आयोगका सदस्य डा.रामेशप्रसाद सिंह, उपत्यकाका नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्षलगायतको उपस्थिति रहेको थियो ।काठमाडौं उपत्यका विकास प्राधिकारणका विकास आयुक्त जानुका ढकाल, प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकरेलले कार्यक्रमको उद्देश्यबारे सरोकारवालालाई जानकारी गराएका छन् ।

