बुधबार, जेष्ठ १३, २०८३ | Wed May 27, 2026


भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघमा नयाँ नेतृत्व, थापालाई सम्मान

भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघमा नयाँ नेतृत्व, थापालाई सम्मान



भक्तपुर, २७ पुस । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर देशमा स्थिर सरकार निर्माण गरेको बताउनु भएको छ । भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको आज आठौं साधारणसभा एवम् चौंथो अधिवेशनको उद्घाटन गर्दै उहाँले अब यो देशले पाँच वर्षका लागि स्थिर सरकार प्राप्त गरेको बताउनु भएको हो ।

उहाँले भन्नुभयो,“कसैले तान्ने बित्तिकै प्रधानमन्त्रीको कुर्सी खुस्किने अवस्था थियो, काँग्रेसले विश्वासको मत दिएसँगै त्यसको अन्त्य भएको छ । सरकार कसको नेतृत्वमा छ, प्रधानमन्त्री कुन दलको छ, राष्ट्रपति कुन दलको छ, सभामुख कुन दलको छ, त्यसले कुनै अर्थ राख्दैन, सरकार पाँच वर्षका लागि स्थिर हुनुपर्छ, पाँच वर्षको लागि निर्वाचित संसद पाँच वर्ष चल्नुपर्छ । देशको समृद्धिको खाका कोर्नुपर्छ, संसदबाटै सबै क्षेत्रको सम्बोधन हुनुपर्छ ।”

संसद प्रवेशको पहिलो अनुभव सुनाउँदै सांसद थापाले संसद संसद देश र जनताका समस्या समाधान गर्ने भन्दा पनि ठूला नेताहरुको जुहारी खेल्ने र कुण्ठा पोख्ने थलो बनेको टिप्पणी गर्नु भयो ।

सांसद थापाले भन्नुभयो, “मलाई लागेको थियो, संसद त देश र जनताको समस्या माथि छलफल, विवेचना गर्ने र समाधान गर्ने ठाउँ हो तर होइन रहेछ, संसद त ठूला दलका नेताहरुको जुहारी खेल्ने ठाउँ पो रहेछ, एउटा नेता आउनुहुन्छ, गजक्क फुल्नुहुन्छ, हामीलाई पाठ पढाउनुहुन्छ । अनी हामीले उहाँको कुरा सुन्छौँ थपडी बजाउँछौ, फेरी अर्को नेता आउनुहुन्छ, छेडछाड गर्नु हुन्छ, एकले अर्कोलाई घोचपेछ गर्नुहुन्छ, फेरी हामी थपडी बजाउँछौ, हामीले सुन्ने र थपडी बजाउने थलोको नाम प्रतिनिधि सभा रहेछ ।”

दलका नेताहरुको ध्यान सत्ता र कुर्सीमा मात्र केन्द्रीत रहेको आरोप लगाउँदै उहाँले आज एउटा नेता फ्याट्ट अर्को नेतासँग मिल्यो, फेरी अर्कोले अर्कोलाई कुर्सीबाट झार्यो, अनि देश र जनताको समस्या कहिले समाधान हुन्छ र ? भन्दै गुनासो पोख्नु भयो ।

यो पनि पढ्नुहोस  एमालेको युवा नेता महेश बस्नेतले भन्नुभयो : केपी ओलीलाई गिरफ्तार गरेर बयान गराउन सक्ने यो धर्तीमा कोही जन्मिएको छैन

निर्वाचनमा काँग्रेस ठूलो पार्टी बन्दा आफ्नो पनि मन्त्री हुने हल्ला चलेको तर देशको राजनीतिक परिवेशनै फरक परे पनि आफूलाई अरुले हेर्ने दृष्टिकोण नै फरक परेको बताउदै सांसल थापाले भन्नुभयो, “ काँग्रेस ठूलो पार्टी बन्दा मेरो पनि मन्त्री बन्ने हल्ला थियो, त्यसबेला घरभरी मान्छेको भीड थियो, चिया खुवाउन भ्याईनभ्याई थियो, तर अर्को सरकार बनेपछि त अहिले मेरो घरतर्फ चिहाएर पनि नहेर्ने भएका छन् । हामी नेता, मतदाता, व्यबसायी सब सेल्फिस भएका छौं, अनि कसरी हुन्छ ?”

उहाँले वर्षदिन भरि २४ सै घण्टा खट्ने नेतालाई चुनाब जित्न गाह्रो भइरहेको बेलामा मान्छे नै नचिनेका, उनीहरुको एजेण्डा र बिचार नै नभएका घण्टी जस्तोलाई जिताएर पठाए मतदाताले अनि कसरी हुन्छ, समस्याको समाधान ? प्रश्न गर्नुभयो । देशमा आर्थिक मन्दीले क्याटरिङ र पार्टी प्यालेस व्यवसाय मात्र नभई सबै क्षेत्रमा समस्या रहेको बताउदै उहाँले भन्नुभयो, सबै पैसा जति नेताहरुको घरमा थुप्रिएको र बाहिर निकाल्ने नमिल्ने भएकाले विदेशबाट हुन्डी मार्फत आउने, बढ्दो आयातका कारण आर्थिक संकट रहेको बताउनु भयो ।

सांसद थापाले भन्नुभयो, “हाम्रा माननीय नै सांसद अपहरण गर्छन्, जग्गा कारोबारी गछृन्, जग्गा प्लटिङ गर्छन्, पहिला जग्गा किनेर पछि त्यही जग्गामा बाटो लैजान्छन्, बिकासको ठेक्का लिन्छन्, अनि कसरी हुन्छ समस्याको समाधान ?” उहाँले एउटा सांसद सबै क्षेत्रको विज्ञ बन्न नसक्ने भन्दै समसामयिक क्षेत्रको समस्या उठान र समाधानका लागि सम्बन्धीत क्षेत्रको विज्ञसँग छलफल गर्नुपर्ने औल्याउनु भयो । उहाँले राज्यले कानुन मार्फत सबै क्षेत्र र व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिदै त्यस्ता कानुन बनाउन आफु सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले कुनैपनि मानवीय स्वास्थ्य, गुणस्तरीय खाना र सुरक्षाका सवालमा पार्टी प्यालेस व्यवसायीहरु जवाफदेही हुनु पर्नेमा जोड दिदै यो व्यबसायमा देखिएका समस्यालाई समाधानमा केन्द्रीत हुनुपर्ने बताउनु भयो ।

यो पनि पढ्नुहोस  गणित उद्यान सुरु

बागमती प्रदेशसभाका अर्का सदस्य सुरेश श्रेष्ठले क्याटरिङ र पार्टी प्यालेस व्यवसायले उपभोक्ताको विश्वास जितनु पर्नेमा जोड दिदै यहाँ भित्रका विकृति विसंगतीप्रति उपभोक्ताहरुको गुनासो बढेको बताउनु भयो । उहाँले व्यवसायीका समस्या समाधान गर्न निरन्तर छलफल र बहश हुनुपर्नेमा जोड दिँदैं त्यसका लागि सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष लिलाबहादुर जिसिले हजारौं दक्ष अर्धदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको क्याटरिङ व्यवसाय कोभिडको महामारीले थिलथिलो बनाएको बताउँदैं त्यसलाई माथि उकास्न सरकारले व्याज दरमा सहुलियत दिनुपर्नेमा जोड दिनु भएको थियो ।

भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष न्हुँछेरत्न मानन्धरले चेम्बर र भक्तपुर क्याटरिङ तथा पार्टी प्यालेस व्यवसायी संघको सहकार्यमा कोभिड १९ को महामारीमा विभिन्न गतिविधि सञ्चालन गरेको स्मरण गर्नु भयो ।

कार्यक्रममा संघका अध्यक्ष एवं कार्यक्रमका सभापति सचिन्द्र श्रेष्ठले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायीको समस्यालाई सामुहिक रुपमा समाधान गर्न संघ प्रतिबद्ध रहेको बताउदै उपभोक्ताको मन जितेर अगाडि बढेर जानु पर्नेमा जोड दिनु भयो ।

संघका सचिव राजेन्द्र देउजाले यो व्यवसायमा अस्वस्त प्रतिस्पर्धा रहेकाले यसलाई त्याग्नु पर्नेमा जोड दिदै यो व्यवसाय हस्पिटालिटीसँग जोडिएको र मानिसको स्वास्थ्यसँग सम्बन्धित रहेकाले गुणस्तरीयता, फुड एण्ड हाइजेनिकतामा सम्झौता गर्न नहुने औल्याउनु भयो ।

संघका उपाध्यक्षमा शान्तराम साँगाछेंले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा नवनिर्वाचित संघीय सांसद दुर्लभ थापा, प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठ, सुरेश श्रेष्ठलाई दोसल्ला र भादगाउँले टोपीले सम्मान गरिएको थियो । संघका सल्लाहका नानीबाबु थापालाई दोसल्ला ओढाएर सम्मान पत्रका साथ कार्यक्रममा सांसद थापाले सम्मान गर्नु भएको थियो भने संघमा आबद्ध भएका नयाँ सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

संघमा नयाँ कार्यससिति चयन :

त्यसैगरि संघको चौंथो अधिवेशनले पुनः सचिन्द्र श्रेष्ठको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको छ । आगामी कार्यकालका लागि संघको उपाध्यक्षमा शान्तराम साँगाछें, सचिवमा राजेन्द्र देउजा, कोषाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा कृष्ण सदन चौगुठी सर्वसम्मतले चयन हुनु भएको छ ।

यो पनि पढ्नुहोस  बालबालिकामा बढ्दै आँखा क्यान्सर

संघका सदस्यहरुमा इश्वर श्रेष्ठ, इन्द्रभक्त श्रेष्ठ, मोहनलाल श्रेष्ठ, विष्णु थापा, भक्तलाल श्रेष्ठ, पुरुषोत्तम श्रेष्ठ सर्वसम्मतले चयन हुनु भएको छ । निर्वाचन कमिटिको संयोजक धर्मरत्न खाईतुले जिम्मेवारी निर्वाह गर्नु भएको थियो । निर्वाचित सबै पदाधिकारीलाई सांसद थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित