काठमाडौं, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका छन्। अहिले नर्भिक अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुक जानेक्रम जारी रहेको छ।
दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो।
यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ।

नर्भिक अस्पतालमा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने छ।


