भक्तपुर, । दुई स्वर्ण र दुई रजत पदक हात पार्दै सूर्यविनायकस्थित कटुन्जे ब्याडमिन्टन क्लब जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ को विजेता बनेको छ ।
सूर्यविनायक नगरपालिकाको सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं. ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा आइतबार सम्पन्न प्रतियोगितामा ४८ टिमलाई पछाडि पार्दै क्लब विजेता बनेको समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पुरुष एकल यू–१७ तर्फ कटुन्जे ब्याडमिन्टन क्लबका अच्युत ढुंगेल प्रथम, सोही क्लबका सुलभ थापालिया दोस्रो र पीबीसीका अपूर्व पोखरेल तथा एसवाईसीका सजिन खजु तेस्रो भएका छन् ।
पुरुष एकल खुलातर्फ डीसीबीका रेसोड सुवाल प्रथम, सोही क्लबका बिराज बोहोरा दोस्रो र डीसीबीकै अस्तमान चक्रधर तथा पीबीजीका कान्तिराम ढुंगाना तेस्रो भएका छन् । पुरुष युगलतर्फ कटुन्जे ब्याडमिन्टन क्लबका विशाल श्रेष्ठ र राजकुमार निरौलाको जोडी प्रथम भयो भने डीसीबीका कुमार शाक्य र रोचक राईको जोडी दोस्रो भएका छन् । एसवाईसीका रवीन्द्र घेमोसु र राजेश खाइतु एवं सीवाईसीका जयराज खड्का र प्रज्ज्वल पाण्डेको जोडी तेस्रोमा चित्त बुझाएका छन् ।
भेटरान्सतर्फ चन्द्र वैभव ब्याडमिन्टन क्लबका दीपक बस्नेत र युवराज श्रेष्ठको जोडी प्रथम तथा कटुन्जे ब्याडमिन्टन क्लबका सबिन ढुंगेल र कृष्ण गोपाल सुवालको जोडी दोस्रो भएको सदस्य सचिव थापाले बताउनुभयो ।
समापन कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजेता, उपविजेता तथा तेस्रो हुने टिमलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गर्नुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका दीपक बस्नेतले ट्रफीसहित आठ हजार रुपैयाँ र उदयमान खेलाडी घोषित अच्युत ढुंगेललाई ट्रफीसहित पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
सूर्यविनायक नगरपालिकामा नगर खेलकुद विकास समिति गठन गरि नगरपालिकाले खेलकुदको विकासमा टेवा पर्याउदै आएको बताउदै नगर प्रमुख वाुिदेव थापाले खेलकुदको विकासका लागि नगरपालिकाले यस वर्ष एक करोड रुपैयाँको बजेट विनियोजन गरेको बताउनुभयो ।
जनस्तरमै खेलाडी उत्पादन गर्न नगरपालिकाले समिति मार्फत विभिन्न खेलको निःशुल्क प्रशिक्षण सञ्चालन गर्दै आएको बताउदै उहाँले सूर्यविनायकबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य नगरपालिकाले राखेको बताउनुभयो । प्रत्येक वडामा एक खेल मदान र नगरपालिकाको ५० रोपनी जग्गामा नगर खेलकुद मैदान निर्माण प्रक्रिया जारी रहेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

