बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


भक्तपुरमा पहिरोमा पुरिएर गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार

भक्तपुरमा पहिरोमा पुरिएर गर्भवती महिला सहित ५ जनाको मृत्यु, १ जना घाईते, ४१ जनाको उद्धार



भक्तपुर, १२ असोज । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण भक्तपुरमा ५ जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–९ पलाँसेमा र वडा नं. ८ को नैचालमा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको हो ।
पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालिकोट सानी त्रिवेणी नगरपालिका–१ घरभई सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको परिवारका ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षिया दमिला शाही, बमकी ४ वर्षिया छोरी रिया बम र साली १४ वर्षिया मनिसा शाही छन् ।
त्यसैगरी, सूर्यविनायक नगरपालिका–९ नैचालमा पनि पहिरोमा परी एकै परिवारका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३७ वर्षिय मनु तामाङ र ५० वर्षिया मसली तामाङ भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

उनका अनुसार भक्तपुरमा पहिरोमा परेर एक जना घाईते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । यस्तै भक्तपुर आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुई जनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ ।
जिल्लाकाे विभिन्न स्थानको डुबान र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष गरी ४१ जनाको उद्धार गरिएको सहायक प्रजिअ निरौलाले बताए ।

जिल्लामा विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५० जना, सशस्त्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताइन् । वर्षा हुने क्रम नरोकिएको र खोला तथा नदीनालाको सतह बढ्ने क्रमसँगै डुबान, बाढी पहिरोको जोखिम थप बढेकोले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई प्रजिअ श्रेष्ठले आग्रह गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  चाँगुनारायण नगरपालिकाको पाँच वर्षमा सात करोड बेरुजु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित