भक्तपुर, ७ मङ्सिर : सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले मंसिर ८ गते मंगलबारदेखि ११ गतेसम्म आयोजना गर्ने चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को सम्पूर्ण तयारी पुरा भएको छ ।
नगरपालिकाका बिभिन्न स्थानमा हुने प्रतियोगितामा नगर भित्रका बिभिन्न विद्यालयहरुबाट ७०० भन्दा बढी खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।
उहाँले सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट ७ गते सोमबार साँझसम्म बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न नाम दर्ता गराउने विद्यालय र विद्यार्थी आएको जानकारी दिनुभयो । समितिले मंसिर ४ गतेभित्र आवश्यक कागजातसहित खेलाडीको विवरण पेस गर्न विद्यालयहरूलाई अनुरोध गरेकोमा समय अभाव भएको र समय थप गर्न माग भएपछि समितिले नाम दर्ता गराउने समय ७ गतेसम्म थप गरेको थियो ।
प्रतियोगिता राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधनसहित) अनुसार सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक रविन्द्र सापकोटाले जानकारी दिनुभयो । प्रतियोगितामा टिम इभेन्ट्समा एक टिमबाट एक÷एक टिम तथा अन्य इभेन्ट्समा बढीमा दुई÷दुई जना खेलाडी सहभागी गराउन सकिने व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
समितिले कराते, उसु, तेक्वाण्डो, भलिबल, कबड्डी र एथलेस्टिकको विद्या गरि कूल ६ वटा खेलमा हुन प्रतिस्पर्धामा प्रत्येक खेलमा प्रथम पुरस्कार रु. ५० हजार, दोश्रो पुरस्कार रु. ३० हजार, तेश्रो पुरस्कार रु. २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य सचिव दीपक थापाले जानकारी दिनुभयो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जस्थित बनाचौरमा सञ्चालन हुने उद्घाटन सत्रमा प्रर्दशन हुने बिभिन्न विद्यालयको मार्सपासलाई प्रतिस्पर्धामा समेटिएको उहाँले जानकारी दिनुभयो ।
मंगलबार बिहान ११ बजे नेपाल स्काउटको मार्चपासबाट उद्घाटन सत्र सुरु हुनछ । मार्चपास प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु. आठ हजार, दोश्रो हुनेलाई पाँच हजार र तीन हजार पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

