भक्तपुर, १२ असोज । बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापा मगर एम्बुलेन्स तथा शव बहान लिएर घटनास्थल पुगेका छन् । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परेर घाइते भएकाहरुको उपचारका लागि अस्पताल पुर्याउन समस्या भइरहेकाहरुका लागि आइतबार एम्बुलेन्स लिएर मन्त्री थापा मगर सूर्यविनायक-८ र ९ को सिमाना नैचाल पुगेर घाइतेको उद्वार गरेका छन् । पहिरोमा पुरिएर घाइते भएका दुई जनालाई उद्वार गरी भक्तपुर अस्पताल पुर्याइ उपचार भईरहेको छ ।
मन्त्री थापा मगरले सोहीस्थानमा पहिरोमा पुरिएर मृत्यु भएकाहरुलाई पोष्ट मार्टमका लागि अस्पताल पुर्याउन शव बहानको व्यवस्था गरेका छन् । शनिबार पहिरोमा पुरिएर नैचालकै ३७ वर्षिय मनु तामाङ र ५० वर्षिया मसली तामाङको मृत्यु भएको थियो । मृतकको शव आइतबार मात्र पहिरोबाट निकालिएको हो ।
सूर्यविनायक नगरको विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएका कारण घाइतेको समयमै उद्वार हुन सकेको थिएन । आइतबार अवरुद्ध सडक खुलाएपछि मात्र एम्बुलेन्स घटनास्थल पुर्याएको थियो । मन्त्री थापा मगर क्षतिको स्थलगत निरिक्षण, उद्वार तथा सडक खुलाउनेलगायतका काममा खट्दै आएका छन् ।