काठमाडौं, २२ असोज । काठमाडौँका विभिन्न स्थानबाट यात्रुसँग बढी भाडा असुल्नेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफकि प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै, सोमबार बल्खुबाट १० जना, नयाँ बसपार्कबाट २ जना र कोटेश्वरबाट २ जना गरी १४ जनालाई ट्राफकि प्रहरीले नयिन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी वृत्तहरूमा बुझाइएको प्रहरीले जनाएको छ।
चेकजाँचकै क्रममा निजि नम्बर प्लेटका सवारी साधनले प्रयोजन विपरित भाडामा यात्रु बोकेको अवस्थामा २ वटा सवारी साधनलाई समेत नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
चाडपर्वको समयमा यात्रुलाई पर्न सक्ने समस्यालाई सम्बोधन गर्नका लागी काठमाडौँ उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी यात्रुको गुनासो सम्बोधन र सहजता ट्राफिक प्रहरीद्वारा प्रदान गरिँदै आएको छ। चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन विशेष कार्ययोजना- २०८१ को प्रभावकारी कार्यान्वयन गर्ने प्रयोजनार्थ आवश्यकता अनुसार जनशकति परिचालन गरिएको छ। यसले विशेष गरी चाडपर्वको मौका छोपी बढी भाडा लिए/नलिएको, लामो दूरीका सवारी साधनमा २ जना चालक भए/नभएको, काउण्टरमा भाडादर टाँस्न लगाउनुका साथै सवारी साधनको क्षमता भन्दा बढी यात्रु राख्ने, फर्जी टिकट काट्ने र यात्रुको सुरक्षा सुनिश्चित जस्ता विषयमा विशेष केन्द्रित भएको समेत प्रवक्ता कार्कीले जानकारी दिए ।
गत १७ गते नयाँ बसपार्कबाट नक्कली टिकट बनाई टिकट बिक्री गरेको अवस्थामा टिकटको ठेली सहित एक जना पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी प्रभाग गोंगबुमा पठाएको जनाएको छ । यात्राका क्रममा कसैले अनावश्यक दुखः हैरानी दिएमा, बढी भाडा लिएमा वा कुनै पनि समस्या भएमा तत्कालै ट्राफिक प्रहरीकाे हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।

