काठमाडौं, २ कार्तिक । स्वास्थ्य मन्त्रालय बागमती प्रदेश र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरबीच प्यालियटिभ स्वास्थ्य सेवा विकास तथा विस्तारका लागि सम्झौता भएको छ । शुक्रबार एक समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. रवि शाक्यबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा पहिलो पक्ष र दोस्रो पक्षले बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयबाट स्वीकृत प्रशामक सेवा (प्यालियटीभ) कार्यक्रमको कार्य विवरण र शर्तनामा (टीओआर) अनुसार कार्यसम्पादन गर्ने, दोस्रो पक्षले कार्यक्रम विस्तार गर्न सकिने अस्पताल, चिकित्सालय तया स्थानीय तह र स्वास्थ्य संस्थाको पहिचान गरी पहिलो पक्षलाई सिफारिस गर्ने र पहिलो पक्षले छनौट गर्ने, दोश्रो पक्षले प्रशामक स्वास्थ्य सेवाको प्याकेज र तालिमको प्याकेज तयार गर्ने र पहिलो पक्षले स्वीकृत जनुमोदन गर्ने, दोश्रो पक्षले तालिम प्रदान गर्ने र तालिममा आवश्यक पर्ने पानी, खाजा खानाको व्यवस्था, प्रमाणपत्र, स्टेसनरी र तालिम सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च व्यवस्थापन दोस्रो पक्षले गर्ने, पहिलो पक्षले सहभागीहरूलाई प्रचलित नियमानुसार दैनिक तथा भ्रमण खर्च मात्र उपलब्ध गराउने शर्त छ ।
त्यस्तै, पहिलो पक्षले संघ र स्थानीय तह लगायत सम्बन्धित सरोकारवालासँग आवश्यक समन्वय र पैरवी गर्ने, दोस्रो पक्षले कार्यक्रम लागु हुने क्षेत्रहरूमा समुदायमा आधारित अवधारणामा रही आवश्यकता अनुरुप प्रशामक सेवा प्रदान गर्ने, आधारित प्रशामक सेवा कार्यकमलाई निरन्तर सहयोगात्मक सुपरिवेक्षण र सहयोग, पहिलो पक्ष र दोस्रो पक्षले समुदायमा प्रदान गरी कार्यक्रमको गुणस्तर विकासका लागि आवश्यक पहलकदमी गर्ने, यस सम्झौता बमोजिम दोस्रो पक्षले स्थानीय तहलाई कार्यक्रमका सबै चरणमा संलग्न गराउने र कार्यक्रमको स्वामित्वका लागि पैरवी तथा क्षमता अभिवृद्धि गर्ने शर्त राखेको छ ।
यस सम्झौता बमोजिमको कार्यलाई कार्यान्वयन गर्न दुवै पक्षको सहभागितामा अनुगमन गर्ने, सम्झौता कार्यान्वयनमा केही विवाद आइपरेमा दुबै पक्ष बसी छलफलबाट समाधान गर्ने, यस सम्झौतामा उल्लेख नभएका कुराहरू प्रचलित कानुन बमोजिम हुनेछ र यो सम्झौता शुक्रबारदेखि २०८२ आषाढ मसान्तसम्म लागु हुनेछ शर्तमा उल्लेख छ । सम्झौता पत्रमा खगेश्वर गेलाल (प्रमुख चिकित्सा सेवा महाशाखा स्वास्थ्य मन्त्रालय बागमती प्रदेश) र डा. पारस कुमार आचार्य (रजिस्ट्रार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर ) ले हस्ताक्षर गरेका छन् ।