मकवानपुर, ४ कार्तिक । हेटौंडा अस्पतालले बिरामीकाे सहजताको लागि मोबाइलमार्फत टिकट बुकिङ सेवा सुरु गरेको छ । मोबाइल सेवा कार्तिक १ गतेदेखि लागु गरेको छ । अस्पतालले नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुक गर्न सकिने व्यवस्था गरेको छ।
अस्पतालको नयाँ प्रणालीअनुसार, बिरामीले मोबाइल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सकिन्छ । पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछ भने, नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुक गर्न सकिन्छ । परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत टिकट लिन सकिन्छ ।
बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सकिन्छ । एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्छ। हेटौँडा अस्पतालले यो सेवा सुरु गरेर बिरामीलाई थप सुविधा दिएको छ र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ। बिरामीले जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुक गर्नुपर्नेहुन्छ । जाँच हुने दिन बिहान टिकट बुक गर्ने सुविधा भने हाललाई उपलब्ध छैन।
मोबाइल सेवाले अस्पतालमा आउने बिरामीलाई लामो लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउने विश्वास छ। बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्छन्।
टिकट बुक गर्न बिरामीले पहिले अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्छ। त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ। दर्ता गरेपछि बिरामीले कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ। यदि नगदमा जाँच गराउन चाहिएको भए “Pay Now” मा क्लिक गरेर भुक्तानी गर्न सकिन्छ। बिमा भएका बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सक्छन्। एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्छ।

