काठमाडौं, २१ कार्तिक । नक्कली खोटा नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायी भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपनडोलका ३० वर्षीय सोहिल शाक्यलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोटहरू (खोटा मुद्रा) निर्माण गरी कारोबार गरेको आरोपमा शाक्य पक्राउ परेका हुन् । ‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा नक्कली खोटा मुद्रा निर्माण गरी कारोबारसमेत भइरहेको भन्ने विशेष सूचनाको आधारमा २०८१ कात्तिक २० गते (बुधबार) केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले शाक्यलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका शाक्य इन्द्र ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक हुन् ।
नेपाल राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको नेपाल राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा नेपाली नोट १००० र ५०० दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोट फेला पारी रितपुर्वक बरामद गरिएको ब्यूरोले जनाएको छ । उनको साथबाट प्रहरीले नेपाली रूपैयाँ १००० दरको नोट जस्तो देखिने श्री 9999 उल्लेख भएको थान ४८, नेपाली रूपैयाँ १००० दरको नोट जस्तो देखिने SD000000 उल्लेख भएको थान ४०, नेपाली रूपैयाँ १००० दरको नोट जस्तो देखिने ट५६,८२१३८३ उल्लेख भएको थान २५, नेपाली रूपैयाँ ५०० दरको नोट जस्तो देखिने श्री 9999 उल्लेख भएको थान २८ बरामत गरेको छ ।