भक्तपुर, १ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार यतिखेर विगतका सरकारले बिगारेका कामलाई सुधार्दै अघि बढिरहेको दाबी गरेका छन् । शनिबार भक्तपुरमा नेकपा एमाले सूर्यवनायक नगर कमिटीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले सरकारले मुलुकलाई आशा जगाएर देश बनाउने काममा लागि परेको बताएका हुन् । “एमाले यतिखेर संयुक्त सरकारमा छ, एमालेले सरकारको नेतृत्व गरिरहे पनि एकल निर्णय र एजेण्डा बाकेर हिड्न पाएको छैन, साझा एजेण्डा बोकेर सरकार अगाडि बढिरहेको छ, यतिखेर सरकार विगतका सरकारले बिगारेका काम बनाएर मुलुक बनाउने काममा लागिरहेको छ”, उनले भने ।
राज्य र जनता मिलेर देश बनाउनु पर्ने औल्याउदै उनले राजनीतिमा स्थायित्व ल्याउन सके देश विकासका लागि धेरै समय नलाग्ने बताए । राजनीतिक स्थायित्व नहुँदा साना दलकै कारण पटक पटक सरकार परिवर्तन भइरहने समस्याले देश विकासमा पछाडि धकेलिएको भन्दै उनले साना दल पनि ठूला दलमा आउनु पर्नेमा जोड दिए ।
राजनीतिमा आएर नेता बन्न लामो समयको त्याग, तपस्या चाहिने भन्दै उनले पछिल्लो समयमा सामाजिक अराजकताका कारण देश कमजोर भएको बन्दै गएको र सामाजिक सञ्जालमा चर्चामा आएपछि सजिलै नेता बन्न सकिन्छ भन्ने मान्यताको विकास हुन थालेकाले यसले देश झन बिग्रने बताए । जनताले नेकपा एमाले वा नेपाली काँग्रेस मध्ये एक दललाई पाँच वर्षसम्म एकल सरकार चलाउने गरि म्याउण्डेड दिएर पठाउनु पर्ने उनले जिकिर गरे । महासचिव पोखरेलले भने, “आउँदो ०८४ को चुनाबमा एमाले र काँग्रेसले अरु कुनै दलसंग तालमेल नगरी एक्ला एक्लै चुनाब लड्ने भएको छ, यस्तो अबस्थामा जनताले दुई पार्टी मध्ये एउटालाई विश्वास गरेर पाँच वर्ष एकल सरकार चलाउने म्याण्डेड दिएर पठाउनुस्, तब देश बिकासले गति लिन्छ ।”
उनले एमालेले मनमोहन अधिकारीको नौ महिने सरकारमा मात्र नभई केपी ओली नेतृत्व सरकारले पनि नाकाबन्दीदेखि कोरोना महामारीसमेत खेपेर भएर देशलाई अगाडि बढाएको र ७ प्रतिशत आर्थिक बृद्धिदर गरेको दाबी गरे ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा वागमति प्रदेश कमिटी इन्चार्ज राजन भट्टराई, एमाले पोलिटब्यूरो सदस्य एवं भक्तपुर इन्चार्ज महेश बस्नेत, केन्द्रीय सदस्यहरु सोमप्रसाद मिश्र, निर्मल भट्टराई, तुलसा दाहाल, गोविन्द दुवाल, वागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेल, एमाले जिल्ला अध्यक्ष बचन देउजा, एमाले जिल्ला उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापालगायतले एमालेको मिसन ०८४ अभियानलाई सफल पार्न सबै नेता कार्यकर्ता एक भएर अगाडि बढ्नु पर्ने बताए ।

