भक्तपुर, ३ मंसीर । यातायात व्यवस्था कार्यालय भक्तपुरको भवन निर्माण तथा जग्गा भोगाधिकार पहलको लागि सरोकारवाला व्यक्तिहरूले स्थलगत निरिक्षण तथा अवलोकन गरेको छ । कार्यालयको भवन निर्माण स्थल गुण्डुस्थित सोमबार बागमती प्रदेशसभा सदस्य तथा स्वास्थ्यमन्त्री किरण थापा, पूर्वमन्त्री महेश बस्नेत, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, यातायात व्यवस्था कार्यालय भक्तपुर प्रमुख डण्ड बहादुर बस्नेत, नापी कार्यालय प्रमुख प्रदिप सापकोटा, जिसस भक्तपुर प्रमुख ईश्वर थापा, मालपोत कार्यालय प्रमुख कुमार आचार्य, सुर्यविनायक नगरपालिका-७ वडाध्यक्ष रविन्द्र सापकोटालगायतले अवलोकन गरेको छ ।
२०८० वैशाक १४ गते शहरी विकास तथा भवन कार्यालय काठमाडौं प्रमुख सिडीई महालक्ष्मी जोशीको अध्यक्षतामा संघीयसभा सदस्य दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य किरण थापा, सुर्यविनायक नगरप्रमुख बासुदेव थापा, तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललगायतको विशेष बैठकले यातायात व्यवस्था कार्यालय, भक्तपुरको भवन निर्माणको लागि साविक गुण्डु गा.वि.स. वडा नं.१, किता नं. २५० को क्षेत्रफल १२-७-०-० जगा प्राप्तिको लागि स्थानीय सिफारिश समितिको मिति २०७८ वैशाख ३१ गते बसेको बैठकको निर्णय बमोजिम जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन यातायात व्यवस्था कार्यालय, भक्तपुरलाई र सोमा आवश्यक सहजीकरण गर्न भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरलाई अनुरोध गर्ने, शहरी विकास तथा भवन कार्यालय काठमाणडौंले टेण्डर आहृवान गरी यातायात व्यवस्था कार्यालय, भक्तपुरको भवन निर्माणको लागि सूर्यविनायक नगरपालिका-७ गुण्डु भक्तपुरको भवन निर्माण कार्यको लागि माटो परिक्षण गर्दा पुरिएको माटो भेटिएकोले निर्माण कार्य अगाडि नबढेकोले पछाडि पट्टीको माटो कटान र पुन; परिक्षण लगायतका प्रक्रिया अविलम्ब अगाडि बढ़ाई भवन निर्माण कार्यमा तीव्रता दिने निर्णय गरेको थियो ।
तर, हालसम्म जग्गाको भोगाधिकार नपाएकाले कार्यालय भवन प्रकृया अघि बढ्न नसकेको र सोमबार सरोकारवाला व्यक्तिहरुले जग्गाको भोगाधिकार तथा प्राप्तिको लागि पहल गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् । यातायात कार्यालयको भवन निर्माणका लागि जग्गा प्राप्ति अनिश्चित रहँदा कार्यालय राधेराधेस्थित भाडाको घरमा खुम्चिएर सेवा दिन बाध्य छ भने, सेवाग्राहीले सास्ती बेहोर्नु परेको छ ।

