काठमाडौं, १ पुस । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा भारी मतान्तरसहित निर्वाचित भएकी छन् । तीन दशकदेखि पत्रकारितामा रहेकी शर्माले ४ हजार २ सय ८२ मतसहित महासंघको अध्यक्षमा निर्वाचित भएर पहिलो महिला अध्यक्ष बन्ने इतिहास रचेकी हुन् । शर्मा प्रेस चौतारी र प्रेस युनियनको प्यानलबाट निर्वाचित भएकी हुन् ।
शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम आइतबार राती घोषणा हुँदा शर्माले रमेश बिष्टलाई पराजित गरी महासंघको नेतृत्व लिएकी हुन् । निर्वाचन समितिका संयोजक प्रा. चिरञ्जिीवि खनालले घोषणा गरेको मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २ सय ३० मतका साथ विजयी भएका छन् भने, महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७ सय ५ मतसहित सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी छन् ।
यस्तै, उपाध्यक्ष समावेशीमा उमितप्रसाद बागचन्द ४ हजार २ सय ९२ मतका साथ विजयी भएका छन् । यसैगरी, महासचिवमा रामप्रसाद दाहाल ४ हजार २ सय ९२ मतसहित विजयी भएका छन् । खुला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, जनजाती सचिवमा सविन प्रियाशन चौधरी, दलित सचिवमा प्रकाश धौलाकोटी, एसोसियट सचिवमा बैकुण्ठराज पराजुली र कोषाध्यक्षमा रामकृष्ण अधिकारी र लेखा समिति संयोजकमा केसी लामिछाने निर्वाचित भएका छन् ।
यसैगरी, कोशी प्रदेश सदस्यमा कमल रिमाल, शंकर खरेल, मधेश प्रदेशबाट केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र राजेश कुमार कर्ण, बागमती प्रदेश सदस्यमा नवराज पथिक, नारायणप्रसाद अधिकारी, गण्डकी प्रदेशबाट कृष्ण केसी र केबी राना, लुम्बिनी प्रदेशबाट रामप्रसाद पोख्रेल र विकास बन्जाडे, कर्णालीबाट तुलाराम पाण्डे र नगेन्द्रप्रसाद उपाध्याय विजयी भएका छन् ।
सुदूरपश्चिमबाट योगेन्द्र बहादुर बलायर, सुरेश पन्त, उपत्यका प्रदेशबाट अर्जुन पन्त र सूर्य सुवेदी, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा र वीरेन्द्र ओली, एसोसियट प्रदेशबाट पवित्रा मुडभरी र मनुका कुँवर, खुला सदस्यबाट छविलाल तिवारी र भुपेन्द्र आचार्य, मुकेन्दप्रसाद भण्डारी, रामेश्वर कार्की र लवदेव ढुंगाना निर्वाचित भएका छन् भने, मधेसी महिला सदस्यमा रुवि रौनियार र अल्पसंख्यक सदस्यमा लक्ष्मण थामी विजयी भएका छन् ।

