शुक्रबार, फाल्गुन २९, २०८२ | Fri March 13, 2026


नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान् प्रधानमन्त्री केपी ओलीले भन्नुभयो : जेनजी आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश दिइएको थिएन, प्रहरीसँग नभएका हतियार प्रयोग गरी गोली हानियो

नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान् प्रधानमन्त्री केपी ओलीले भन्नुभयो : जेनजी आन्दोलनमा ताकीताकी गोली हान्ने आदेश दिइएको थिएन, प्रहरीसँग नभएका हतियार प्रयोग गरी गोली हानियो



काठमाडौं, ३ असोज नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान र सार्वभौमसत्तामाथि हाल ठूलो आक्रमण भइरहेको बताउनुभएको छ। संविधान दिवसको अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत जारी गर्नुभएको सन्देशमा सबै नेपालीलाई एकताबद्ध भई संविधान र सार्वभौमसत्ताको रक्षा गर्न अपिल गर्नुभएको हो।

अध्यक्ष ओलीले सात दशक लामो सङ्घर्षपछि नेपाली जनताले आफैँ निर्वाचित संविधानसभामार्फत ल्याएको संविधान ऐतिहासिक महत्वको भएको उल्लेख गर्नुभएकाे छ। उहाँको भनाइमा, ‘नाकाबन्दी र सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो, तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।’

उहाँले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्टित मुलुकलाई भूजडित बनाउन उत्तर–दक्षिण यातायात संरचना निर्माण गर्ने, उत्तरी छिमेकीसँग पारवहन सम्झौता गर्ने, सार्वभौमसत्ताको सामर्थ्य विस्तार गर्ने र विकास संरचनाका जग बसाल्ने काम अघि बढाइएको स्मरण गर्नुभयो। उहाँका अनुसार त्यस क्रममा अर्थतन्त्र समेत तङ्ग्रँदै गइरहेको थियो।

हालैको जेनजी प्रदर्शनको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले सो आन्दोलनमा आह्वानकर्ताले भनेझैँ घुसपैठ भएकाले षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन, प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग गरी गोली हानिएको घटनाको छानबिन हुनु पर्दछ ।’

ओलीले सो क्रममा ज्यान गुमाएका युवाप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो भने घाइतेहरूको स्वास्थ्य लाभको कामना  गर्नु भएकाे छ ।

संविधान दिवसको सन्देशमा अध्यक्ष ओलीले आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबार जलाइएको, नेपालको नक्सा जलाइएको, देशको निशानी मेटाउन खोजिएको, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा नेताकार्यकर्ताको घर र व्यक्तिगत सम्पत्तिसमेत छानीछानी खरानी बनाइएकाबारे चिन्ता व्यक्त गर्नुभएकाे छ। उहाँले यसका पछाडिको षड्यन्त्रबारे अहिले धेरै नबोल्ने बताउँदै समयले आफैँ यसको खुलासा गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

यो पनि पढ्नुहोस  नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाद्धारा पदभार ग्रहण लगत्तै तीन महत्वपूर्ण निर्णय

इतिहास स्मरण गर्दै अध्यक्ष ओलीले देशको सिमाना विस्तार गरेर फर्किएका काजी भीम मल्ललाई मृत्युदण्ड दिइएको घटनाबाट पनि सिक्नुपर्ने बताउनुभएकाे छ। उहाँले यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषको परिणाम पछुतो मात्र हुने चेतावनी दिनुभएकाे छ। ‘हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ- सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न, सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो,’ अध्यक्ष ओलीले भन्नुभएकाे छ ।

उहाँले सार्वभौमसत्ताको रक्षा र संविधानको संरक्षणका लागि सबै नेपाली एकताबद्ध हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

यस्तो छ ओलीको सन्देश

दिदीबहिनी तथा दाजुभाइहरू !

आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म सङ्घर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्टित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौँ। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्ग्रँदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैँ । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकिताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दछु।

यो पनि पढ्नुहोस  एमालेको चाँगु–नगरकोट पदयात्रा–२०८१ सम्पन्न, हजारौको सहभागिता

हामी यति बेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानिछानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ । तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।

हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

मेरो सबैमा अपिल छ –

संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित