शुक्रबार, बैशाख १८, २०८३ | Fri May 01, 2026


मध्यपुर महोत्सव सुरु

मध्यपुर महोत्सव सुरु



भक्तपुर, ११ पुस । मध्यपुर थिमि नगरपालिकामा तीन दिने ‘मध्यपु महोत्सव २०८१’ सुरु भएको छ । शुक्रबार नगरपालिकाले भव्य रुपमा महोत्सवको सुरुवात गरेको छ ।

मध्यपुर थिमिलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै नगर र नगरबासीको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीय कला, संस्कृति, मौलिक पेशा, परिकार, र उत्पादनलाई प्रवर्द्धन गर्ने, मध्यपुरलाई पर्यटन गन्तव्यको रूपमा परिचित गराउने, र यहाँका ऐतिहासिक जात्रा तथा पर्वका बारेमा जानकारी प्रदान गर्दै महोत्सवले पर्यटकलाई आकर्षित गर्ने नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिए।

महोत्सव शंखधर चोकदेखि बालकुमारी, चपाचो, नगदेश, बोडे, र टिकनिको नीलबाराहीसम्मका ऐतिहासिक बस्ती क्षेत्रमा सञ्चालन भएका छन्। महोत्सवमा तीन सय ४७ स्टल छन्। यीमध्ये स्थानीय कला, संस्कृति, परम्परा, र हस्तकला प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रदर्शन तीन दिनसम्म चल्नेछ। महोत्सवमा साँस्कृतिक नाच प्रदर्शन अन्तर्गत २५ प्रकारका परम्परागत नाचः अष्टमातृका नाच, इन्द्रअप्सरा नाच, नागचा नाच, लाखे नाच, मयुर नाच, महाकाली नाच आदिको प्रदर्शन हुनेछ।

बाजागाजाका प्रदर्शनीमा धिमे बाजा, गुँला बाजा, बासुरी बाजा, र दाफा भजन लगायतका २६ प्रकारका सांस्कृतिक बाजाहरू प्रदर्शन हुने नगरपालिकाले जनाएको छ। यसका साथै नेवारी वेशभूषा र परम्परागत सामग्री प्रदर्शनीमा नेवारी संस्कार र वेशभूषा, माटोका भाँडाकुँडा, सेरामिक्स, मूर्ति र मूर्तिकला प्रदर्शनीमा राखिएका छन्। नेवाः संस्कारका अलवा नेपाली मुद्रा र सिक्का प्रदर्शनी, परम्परागत खेलकुद, र दाफा भजनसहितका भजनकीर्तन पनि प्रदर्शन भइरहेका छन्। इतिहास हेर्ने हो भने यसअघि मध्यपुर महोत्सव पहिलो पटक २०५५, दोस्रो पटक २०५८, र तेस्रो पटक २०६१ मा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  अख्तियारद्धारा छ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित