काठमाडौं, २५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन करकापपूर्ण सहमतिको प्रयास नहुने बताउनुभएको छ ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भरसक सहमतिबाट नेतृत्व चयन गरिने बताउँदै सहमति हुन नसके करकाप नगरिने बताउनुभयो । सहमति नभए स्वच्छ प्रतिष्पर्धा हुने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले प्रतिनिधिहरूले विश्वास गरे भने आफ्नो पार्टी अध्यक्ष पद निरन्तर हुने स्पष्ट गर्नुभयो । ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ’, उहाँले भन्नुभयो ।
एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उहाँले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको सुनाउनुभयो । यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उहाँले स्वच्छ प्रतिष्पर्धा वा बिना करकाप नेतृत्व छानिने बनाउनुभयो ।
केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताउनुभयो । ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्यो नि, मसँग त कुरा गर्नुभएको छैन’, ओलीले भन्नुभयो ।

