बुधबार, साउन २७, २०८३ | Wed August 12, 2026


बालुवाटारबाट भागेको होइन, पाण्डवजस्तै ‘लाक्षागृह’बाट ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली

बालुवाटारबाट भागेको होइन, पाण्डवजस्तै ‘लाक्षागृह’बाट ज्यान जोगाउन निस्किएको हुँ: केपी ओली



काठमाडौँ, २५ मंसिर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि आफू प्रधानमन्त्री निवास बालुवाटारबाट ‘भागेको’ भन्ने आरोप अस्वीकार गर्नुभएको छ। आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उहाँको भनाइ छ ।

बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रियामा बोल्दै ओलीले आफू भागेको नभई राजनीतिक षड्यन्त्र र घेराबन्दीबाट जोगिन सुरक्षित स्थानमा सरेको बताउनुभएको हो।

अध्यक्ष ओलीले महाभारतको ‘लाक्षागृह’ को प्रसङ्ग पनि सुनाउनुभयो। अध्यक्ष ओलीले विपक्षी गठबन्धनका नेताहरूलाई कौरव पक्षका दुर्योधन, शकुनि र दुशासनसँग तुलना गर्दै पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गर्नुभयो ।

भाग्न त कौरवहरूले–दुर्योधन, शकुनि र दुशासनहरूले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोज्दा पाण्डवहरू पनि एकतिरबाट आगो लगाएपछि अर्कातिरबाट भाग्दिए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भागेकै हुन् पाण्डवहरू। तर उनीहरू कातर भएर भागेको होइन, बुद्धि पुर्‍याएर भागेका हुन्।’

अध्यक्ष ओलीले आफूलाई चौतर्फी घेराबन्दी गरेर सिध्याउन खोजिएपछि अस्तित्व रक्षाका लागि बालुवाटार छोड्नु परेको तर्क गर्नुभयो। ‘दुष्टहरूको घेराबन्दी तोड्नु पर्दो रहेछ, त्यस्ता प्रयासहरूलाई असफल पार्नु पर्दो रहेछ, जस्तो पाण्डवले पारेका थिए,’ उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले आफू त्यतिबेला कामचलाउ प्रधानमन्त्रीकै हैसियतमा रहेको भन्दै भाग्यो भन्ने टिप्पणीलाई अस्वीकार गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर प्रधानमन्त्री हुन्छ ? प्रधानमन्त्री भाग्यो भनेको केयरटेकर भएर भाग्छ ?’

विपक्षीहरूले आफूलाई जितेर लखेटेको नभई आफूले नै मुकाम परिवर्तन गरेको उहाँको दाबी थियो। ‘मैले किन बालुवाटार छोडे भन्दा नछोड्न सक्थेँ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘वल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन ?’

विपक्षीहरूले ‘ओली भाग्यो’ भन्दै गरेको टिप्पणीप्रति व्यङ्ग्य गर्दै अध्यक्ष ओलीले यसलाई केटाकेटीको रमाइलोसँग तुलना गर्नुभयो। ‘भाग्यो, भाग्यो भन्दा बच्चाबच्चीहरू खुसी हुन्छन् क्या ! उसले खेदे जस्तो गर्छ, आफू कुद्दिनु पर्छ,’ ओलीले भन्नुभयो, ‘म कार्यवाही प्रधानमन्त्री चलाइराखेको छु, भाग्यो कसरी ?’

यो पनि पढ्नुहोस  भक्तपुरलाई पर्यटन र स्वास्थ्यको हव बनाउँछौं : प्रदेश मन्त्री थापा

अध्यक्ष ओलीले आफूमाथि भएको घेराबन्दी र आक्रमणबाट जोगिनुलाई कायरता नभई बुद्धिमत्तापूर्ण कदम भएको जिकिर गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित