भक्तपुर, २६ माघ : वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आज भक्तपुरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने अभियान शुभारम्भ गर्नु भएको छ ।
आज जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको खोप अभियान शुभारम्भ कार्यक्रममा मन्त्री थापा मगरले खोप हस्तान्नरण गर्दै अभियानको सुरुवात गर्नु भएको हो । अभियान सफल पार्न सबैमा आव्हान गर्दै उहाँले सरकारले गतवर्ष र यसवर्ष निःशुल्क खोप उपलब्ध गराएकाले खोप नछुटाउन आव्हान गर्नुभयो ।नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगमा पनि पहिलो नम्बरमा रहेको पाठेघरको मुखको क्यान्सर रोगलाई निर्मल पार्न सरकारले सञ्चालन गरेको खोप अभियानमा कोही किशोरी छुट्न नहुने बताउनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चारजनाको मृत्यु हुने गरेको तथ्यांक रहेको बताउदै खोप अभियान सफल पार्न सरकारले अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा वागमति प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव एवं प्रसुति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले नेपालमा पनि पाठेघरको मुखको क्यान्सर न्यूनिकरणका लागि लगाईने यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको बताउनुभयो ।
उहाँले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो स्थानमा रहेको र स्तन क्यान्सर दोश्रोमा रहेको बताउदै वागमती प्रदेशका १३ जिल्लामा खोप अभियानलाई सफल बनाउन जिल्ला, स्थानीय तह र अन्य विभिन्न निकायसंग समन्वय गरि अभियान सञ्चालन गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले भक्तपुरमा आजदेखि फागुण १ गतेसम्म सञ्चलन हुने खोप अभियानमा यसवर्ष ३५ वटा स्वास्थ्य संस्था एवं खोप केन्द्र र ८० वटा विद्यालयबाट भक्तपुरमा तीन हजार ८८१ जना किशोरीलाई खोप लगाईने बताउनुभयो । जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ जना किशोरी, १० वर्ष उमेर समूहका १६३ जना र गतवर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरीलाई खोप लगाईने भएको उहाँले बताउनुभयो ।
अभियानमा सूर्यविनायक नगरपालिकाका ८८५ जना, १० वर्ष उमेर समूहका ७१ जना, कक्षा ७ देखि १० छाडेका विद्यार्थी ३० जना र ११–१४ वर्ष उमेर समूहका २० जना किशारीलाई खोप लगाईने छ ।

मध्यपुरथिमि नगरपालिकामा ९२१ जना, १० वर्ष उमेर समूहका २६ जना, भक्तपुर नगरपालिकामा एक हजार ५१५ जना र चाँगुनारायण नगरपालिकामा ५२९ जना, १० वर्ष उमेर समूहका ६६ जना किशारीलाई खोप लगाईने छ ।
जिल्ला १० वर्ष उमेर समूहका किशोरी १६३ जना र कक्षा ७–१० का गत वर्ष खोप लगाउन छुटेका ३० जना तथा ११ देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका कशोरी–किशोर २० जना किशारीलाई अभियानमा खोप लगाईने छ । फागुन १ गतेसम्मको अभियानमा छुटेका किशोरीहलाई फागुन ४ र ५ गते खोप केन्द्रमार्फत खोप लगाईने प्रमुख खड्काले जानकारी दिनुभयो ।

उहाँले भक्तपुरमै अन्य जिल्लाकालागि पनि खोप भण्डारण केन्द्र रहेकाले संकलित विवरण भन्दा बढी खोप लगाउनु पर्ने भएमा पनि खोप थप गर्न सहज हुने उहाँले बताउनुभयो । गतवर्ष छुटेका, इँट्टा भट्टादेखि विभिन्न क्षेत्रबाट आएका तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई समेत अभियानमै एचपिभि खोप दिन कार्याल्यले व्यबस्था गरेको उहाँले जानकारी दिनुभयो ।
देशभरका तीन लाख ५० हजार किशोरीलाई खोप दिईने :सरकारले देशका बिभिन्न जिल्लामा आइतबारदेखि सुरु खोप अभियान फागुन १५ गतेम्म खोप अभियान सञ्चालन गर्नेछ । कक्षा ६ मा अध्ययनरत सबै र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका तथा गत वर्ष खोप दिन छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत र विद्यालयबाहिर रहेका ११ देखि १४ वर्षका कुल तीन लाख ५० हजार ५०० किशोरीलाई एसपिभि खोप दिईने लक्ष्य राखेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभयो ।
पाठेघरको क्यान्सरको रोकथामका लागि अमेरिकाबाट सुरु भएको यो खोप नेपालमा गत वर्षदेखि फागुन २२ गतेबाट अभियानका रुपमा लगाउन सुरु भएको थियो । एचपिभी खोपलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको बताईएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई एचपिभी खोप लगाइएको थियो । खोप अभियानमा देशभर १५ हजारभन्दा बढी स्वास्थ्य स्वयंसेविका परिचालन भएका छन् ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

