शुक्रबार, बैशाख २५, २०८३ | Fri May 08, 2026


मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुन्छ : मुख्यमन्त्री बानियाँ : प्रदेश भाषा दिवस–२०८३ सम्पन्न

मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुन्छ : मुख्यमन्त्री बानियाँ : प्रदेश भाषा दिवस–२०८३ सम्पन्न



भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले वागमती प्रदेशका १३ जिल्लाका ११९ वटा स्थानीय तहले नेपाल (नेवारी) भाषा र तामाङ्ग भाषालाई व्यबहारिक रुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिनु भएको छ ।
आज वागमति प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले भक्तपुरमा आयोजना गरेको प्रदेश भाषा दिवस–२०८३ को उद्घाटन गर्दै उहाँले शौचालयदेखि पालिका तथा सार्वजनिक स्थलमा सबैले देख्नेगरि नेपाली भाषाको साथै नेपाल भाषा र तामाङ्ग भाषामा सूचना वा बोर्डहरु राख्न निर्देशन दिनु भएको हो ।
भाषा, कला, संस्कृतिको संरक्षणका लागि आवश्यक परे प्रदेश सरकारले बजेट थप गर्ने बताउदै उहाँले मातृभाषाको संरक्षणले मात्रै आफ्नो इतिहास, संस्कृति र पहिचानको संरक्षण हुने बताउनु भयो ।
काठमाडौं उपत्यकामा भाषा संग्रहालय स्थापना गर्नु पर्ने बताउदै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘ईतिहास र सम्पदाका सहरको रुपमा रहेको काठमाडौं उपत्यकाको तीन जिल्ला भक्तपुर, काठमाडौं, ललितपुर मध्ये एक जिल्लामा नेवारी, तामाङ्गलगायत सबै जातजातीको भाषा, कला, संस्कृति, परम्परा, संस्कार र संस्कृतिको संरक्षण गर्न एउटासंग्रहालय निर्माण गर्नेछौं, त्यसका लागि आउँदो बजेटमा ब्यबस्थ ागर्नेछौं ।’
मुख्यमन्त्री बानियाले भाषा, साहित्य र संस्कृति क्षेत्रमा योगदान पुर्याएका नेवारी भाषा साहित्यकार डा. पुष्पराज राजकर्णिकार र तामाङ भाषा साहित्यमा योगदान पु¥याएका राजेन्द्र थोकरलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, शिक्षा सामाजिक विकास मन्त्री कञ्चनवादे श्रेष्ठ, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, नेपाल तामाङ घेदुङका महासचिव जगत डोङ, नेवा दे दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापति, प्रदेश सचिव दिपेन्द्र सुवेदीलगायतले सबै भाषा, कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठले बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयनमा आएको दिनको सम्झनामा विगत तीन वर्षदेखि प्रत्येक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने निर्णय गरेकाले आजको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
उहाँले आजको कार्यक्रममा भाषाका अभियन्ता भनिएकाहरुको अन्तिमसम्म सहभागिता नरहनुले अभियन्ताहरुको भाषाको संरक्षणको नारा कर्मकाण्डी हुने आशंका उब्जाएको बताउनुभयो ।
यसअघि भक्तपुर क्याम्पस अगाडि दुधपाटीबाट बिभिन्न जातजातिको बाजा एवं संस्कृति झल्कने प्रस्तुतीसहित प्रभातफेरि सुरु भई कमल विनायक हुँदै लान्चा फल्चा पुगी कार्यक्रम सम्पन्न भएको थियो । मुख्यमन्त्री बानियाले भाषा दिवसको अवसरमा स्मारिका विमोचन गर्नुभएको थियो भने भाषा दिवस कार्यक्रममा विभिन्न मौलिक बाजा र नाचहरू पनि प्रदर्शन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  वागमति प्रदेशका १३ जिल्लाका सबै अस्पताललाई १० प्रतिशत निःशुल्क शय्या, उपचार र औषधि उपलब्ध गराउन मन्त्री किण थापाको निर्देशन

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित