भक्तपुर, २४ वैशाख : वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरुको उपचारको जिम्मा वागमती प्रदेश सरकारले लिने बताउनु भएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको सुकुम्वासी सेल्टरमा आज मुख्यमन्त्री बानियाँसहित स्वास्थ्य मन्त्री किरण थापा मगर, पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ, सामाजिक विकास मन्त्री कञ्चन बादे श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमसहितको टोलीले सुकुम्वासी सेल्टरको अनुगन गरेको छ ।
सरकारले मनोहरा, बल्खु, माछापोखरी, बालाजुलगायतका ठाउँबाट ल्याएर राखिएको सेल्टरमा अनुगमनका क्रममा भक्तपुरका सेल्टरमा रहेका सुकुम्वासीहरुको स्वाथ्य उपचारको जिम्मा प्रदेश सरकारले लिने बताउनु भएको हो ।
सुकुम्वासीहरुसंग कुरा गर्दै मुख्य मन्त्री बानियाँले भन्नुभयो, ‘केन्द्रीय सरकारले छिटै तपाईहरुको स्थायी बसोबारको व्यबस्था गर्नेछ, तपाईहरु नआत्तिनुहोस्, तपाईहरुको निःशुल् स्वास्थ्य उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ, त्यसको लागि आवश्यक बजेट हामी ब्यबस्थापन गर्छौ ।’ उहाँले प्रदेश सरकारको विपद व्यबस्थापनमा रहेको बजेटबाट सेल्टरमा रहेका सुकुम्वासीको स्वास्थ्य उपचारमा सहयोग गर्ने बताउनु भयो ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले असारसम्मका लागि आवश्यक पर्ने औषधिहरुको लिष्ट तार पारेर माग गर्न जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र भक्तपुर अस्पताललाई निर्देशन दिदै सबैलाई निःशुल्क उपचारको व्यबस्था गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले पनि उपचार नपाएको गुनासो सुन्न नपर्ने गरि सबै विरामी र दीर्घरोगीको उपचार गराउँनुस्, भक्तपुर अस्पतालमा आवश्यक परे भर्ना गरेर उपचार गर्नुस्, उपचारको जिम्मा हाम्रो पनि हो, बजेटको ब्यबस्थापन हामी गर्छौ ।’
अनुगमनमा पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठले यहाँ रहेका २९ जना बालबालिकालाई नजिकैको श्रीकृष्ण माध्यमिक विद्यालयमा तत्काल पठ्न पाठनको व्यबस्था गर्ने बताउनुभयो । उहाँले चाँगुनारायण नगरपालिकासंग समन्वय गरेर खरिपाटीमा रहेसम्म यहाँका बालबालिकालाई पठनपाठनको व्यबस्था मिलाउने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयको सचिव डा. सुमित्रा गौतमले जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्कालाई दैनिक रुपमा सेल्टरमा चिकित्सकसहितको स्वास्थ्य टोली राखेर स्वास्थ्य परीक्षणलाई निरन्तरता दिन निर्देशन दिनुभयो ।
कार्यालयकी प्रमुख खड्काल्े मुख्यमन्त्रीसहितको टोलीलाई सेल्टरमा रहेका सुकुम्वासीहरुको बिभिन्न रोगको अबस्था, स्वास्थ्य शिविर सञ्चालन गरेको, निःशल्क औषधि वितरण गरेको, दैनिक सेवा प्रवाह गरेको जानकारी गराउनुभयो । उहाँले सेल्टरमा आँखा नदेख्ने, प्यारालाईसिस, स्ट्रोक, दीर्घ रोगीलगायतको धेरै विरामी रहेको र बिमामा नपर्ने मंहगा औषधि खानुपर्ने बिरामीहरुसमेत रहेको जानकारी गराउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले सेल्टरमा सरकारले गरेको व्यबस्था, खानेपानको व्यबस्थालगायतकोबारेमा जानकारी गराउनु भएको थियो ।सरकारले खरिपाटीमा १५८ जना, मध्यपुरथिमि बोडेको कृषि विकास बैंकको तालिम कन्द्रमा ३९ जना र नगरकोटको खानेपानी तालिम केन्द्रमा ४६ जनालाई सेल्टरको रुपमा राखेर खाने र बस्ने ब्यबस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

