भक्तपुर, २१ कात्तिक । आगामी पाँच वर्षका लागि आफ्नो गाउँ, ठाउँ र जिल्लाको विकास गर्ने, जनताको नजिक रहने नेतालाई मतदान गरेर जिताउने दिन नजिकिदै छ । प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचनको दिन मंसिर ४ गते मतदान गर्ने दिन नजिकिदै गर्दा नेपाली काँग्रेसका नेता कार्यकर्ता भने त्यो पार्टी परित्याग गर्दै एमाले प्रवेश गर्नेको लर्को घटेको छैन । झण्डै दिनदिन एमालेमा काँग्रेसलगायतका बिभिन्न पार्टीहरु परित्योग गरि एमाले छिर्ने लर्कोले एमालेमा थप उत्साह छरेको छ ।
भक्तपुर क्षेत्र नं. २ मा नेकपा एमालेको वडादेखि नगर र जिल्ला कमिटीसम्मले ओायजना गरेको उम्मेदवार परिचयात्मक, अन्तरक्रिया तथा घरदैलो कार्यक्रममा नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका पार्टी परित्याग गरी युवाहरु एमालेमा प्रवेश गर्ने क्रम जारी रहेको छ ।
आइतवार साँझ मात्रै एमाले निर्वाचन परिचालन कमिटी वडा नं. ६ ले आयोजनामा गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा राप्रपाबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका उम्मेदवार तुल्सिराम पञ्च, नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु कृष्णकुमार त्वाती, रुकेश ध्वजु, राकेश सुवाल, दिनेश सुकुभटु र नेकपा एसका वडा कमिटी सदस्य चन्दन कर्माचार्यको नेतृत्वमा नेपाली कांग्रेस र राप्रपा पार्टी परित्याग गरी ४६ जना युवाहरु एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, क्षेत्र नं. २ ‘क’ प्रदेशसभाका उम्मेदवार किरण थापाले खादा तथा टीका लगाएर एमाले पार्टीमा स्वागत गर्नुभयो । भक्तपुरको विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकाले एमाले प्रवेश गरेको उनीहरुले बताए ।
गठबन्धनका दलको सरकारले बिकासका बजेट काटेर सत्ता स्वार्थ र आफ्नो स्वार्थ पुरा गर्नमात्र लागेको बताउदै उहाँले देश र जनताको पक्षमा काम गर्ने पार्टी, बिकास गर्ने पार्टी, देशलाई समृद्ध बनाउने पार्टी यो देशमा एमालेको विकल्प नभएका बताए । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा एमालेले अपडग भएर रहेको चर्चा गरे ।
सरकारले राष्ट्रघाती नागरिकता विधेयक ल्याएर नेपाललाई सिक्कीमिकरण तथा फिजिकरण गर्ने खोजेको भन्दै उहाँले एमालेको सशक्त विरोध पछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्न रोक्नु भएको बताउनुभयो । सरकारले नागरिकता विधेयकमात्र नभई राष्ट्रको हित विपरित एमसीसी, एसपीपीलगायतका असंख्य गतिविधिहरु गरिरहेको भन्दै नेता बस्नेतले सरकारको उक्त कदमलाई रोक्नको लागि आगामी निर्वाचनमा एमालेको विकल्प नभएको बताउनुभयो ।
नवप्रवेशीलाई निर्वाचनमा होमिन निर्देशन दिँदै उहाँले आगामी दिनमा पार्टीले नवप्रवेशीलाई योग्यता, क्षमता तथा दक्षताको आधारमा उचित जिम्मेवारी दिने बताउनुभयो । एमाले प्रवेश गरेका युवहरुले आगामी निर्वाचनमा एमालेलाई जिताउन जस्तोसुकै परिस्थितीको सामना गरि अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

