भक्तपुर, २२ कात्तिक : साँझ ढल्किदै गयो, भक्तपुर र मध्यपुरथिमि नगरपालिकास्थित नेवार समुदायको बस्ती भित्रको पाटी र मन्दिरमा चहलपहल पनि बढ्दै गयो । दिउँसोदेखिनै यहाँका मन्दिर प्राङ्गनमा अन्नबाट बिभिन्न देवी देवताको आकृतिहरु बनाइएको थियो । साँझ बत्तिले झिलिमिलि बनेका चोक चोक, गल्ली गल्लीमा रहेका बिभिन्न मठ मन्दिर र पाटी तथा सत्तलहरुमा महिला पुरुषको सहभागिता बढ्दै गयो ।
हार्मुनियम, तबला र बिभिन्न परम्परागत बाजाहरु बज्न थाले अनि गाइन थाले दाफा भजन । प्रत्येक मन्दिर र पाटीमा घन्किएका दाफा भजनले भक्तपुर र मध्यपुरथिमि गुञ्जयमान बन्यो । मन्दिर अगाडि मकै, भटमास, पिडालु, सख्खर खण्डलगायतका बिभिन्न अन्न र अन्नका परिकारहरुको थुप्रो लागेको थियो । मध्यपुरथिमिको बोडे, नगदेश, चपाचोमा मन्दिर अगाडि गहँुको पिठोबाट पकाइएको परिकार, बिभिन्न देवी देवता र मन्दिरको आकृति बनाइएको थियो ।
यता भक्तपुरको गोल्मढीस्थित गणेश मन्दिर, ज्याठा गणेश, बाराहीस्थान, सूर्यविनायक गणेश मन्दिर, टौमढीको भैरब मन्दिरलगायतका बिभिन्न मन्दिर अगाडि घरघरबाट ल्याएको भुटेको मकै, कालो भटमास, गहुँलगायतका गेडागुडी तथा पुरी मालपुवालगायत गहुँबाट बनेको परिकारबाट मन्दिर अगाडि बनाइएको देवताको आकृति । अन्नबाट आकृति बनाइने परम्परालाई हरिमन्दि तथा नसा ब्वयेगु पनि भन्ने चलन रहेको संस्कृतिविद् ओमहरि कायस्थले बताउनु भयो ।
स्थानीय बासिन्दाले आफ्नो टोलको दाफा भजन भएको ठाउँमा सहभागिता मात्रै जनाएका थिएनन्, प्रत्येक घरबाट उसिनेको सख्खरखण्ड, पिँडालु तथा भुटेका मकै, भटमास र गहँुलगायतका गेडागुडीले मूला लगायतको थुप्रो देखिन्थ्यो । राती दाफा भजन सकिए पछि भने सबैले त्यसलाई प्रसादका रुपमा ग्रहण गर्दै आजबाट एक महिने दाफा भजन सम्पन्न गर्ने परम्परा छ ।

दशैँको कोजाग्रत पूर्णिमादेखि नेवार समुदायले आ–आफ्नो टोलमा रहेको गणेश, महादेवलगायतका देवीदेवताका मन्दिरमा प्रत्येक साँझ दाफा भजनकीर्तन गाउन शुरु गरेका थिए । सोही एक महिने भजनकीर्तन भव्य रुपमा अन्नको देवत्व ग्रहण गर्ने पर्वका रुपमा समापन गरिएको संस्कृतिविद् कायस्थको भनाइ छ ।
मध्यपुरथिमि नगरपालिका–७ नगदेशका वडाध्यक्ष कृष्णकुमार प्रजापतिले एक महिने कात्तिक भजनको समापन गरिएको बताउदै यो पर्वलाई हिन्दू र बौध धर्मावलम्बीहरुले मान्दै आएको बताउनु भयो ।
नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो उत्पादन इष्ट देवलाई चढाएर मात्र खाने प्रचलनअनुसार यसदिन पिँडालु, सख्खरखण्डलगायतका कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको उहाँ बताउनु हुन्छ । यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहेदै आएको उहाँको भनाइ छ ।
सकिमाना पुन्हीमा महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनुको साथै अविवाहितले राम्रो वर पाउने, घर परिवारमा सुख शान्ति हुने धार्मिक विश्वास समेत रहदै आएको संस्कृतिविद् कायस्थ बताउनु हुन्छ ।
नेपाल संवत् ८१८ मा भूपतीन्द्र मल्लले लेखाएको भक्तपुर दरवार क्षेत्रको मालती चोकको अभिलेखमा भक्तपुर तलेजुभित्र सकिमना पुन्हि मनाउने क्रममा तलेजुभवानीलाई खीर चढाउने गरिएको उल्लेख गरिएको छ । यसैदिन तलेजु मूलचोकको स्नेह मण्डपमा पनि अन्नको परिका बनाएर नसा ब्वयेगु गरिन्छ ।

