भक्तपुर ३० असोज : सूर्यविनायक नगरपालिकाले आयोजना गरेको एक लाख राशीको अन्तर वडास्तरीय फुटवल प्रतियोगिताको ट्रफी वडा नं. १० चित्तपोलले हात पारेको छ ।
आज सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित संकटा खेल मैदानमा सम्पन्न फाईनल खेलमा वडा नं. ९ लाई १ का बिरुद्ध ३ गोल गर्दै वडा नं. १० चित्तपोल विजेता बन्न सफल भएको हो ।

कार्यक्रममा विजेता वडा नं. १० लाई नगर प्रमुख वासुदेव थापाले रु. एक लाख पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गर्नुभयो । उपविजेता वडा नं. ९ नंखेलले नगद रु. ५० हजार ट्रफी र मेटल, प्रमाणपत्र तथा तृतिय हुने वडा नं. ४ दधिकोटलाई नगद रु. २५ हजार ट्रफी, मेटल र प्रमाणपत्र नगर प्रमुख थापाल प्रदान गर्नुभयो ।

आजै सम्पन्न सेमिफाइनल खेलमा वडा नं. ४ दधिकोटले वडा नं. ८ सिपाडोललाई १ का बिरुद्ध ४ गोल गर्दै तेश्रो स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा चौथो हने वडा नं. ८ सिपाडोललाई रु. १० हजार, प्रमाण पत्र, मेडल प्रदान गरिएको छ ।

उत्कृष्ट खेलाडी वडा नं. १० का युथ देउजालाई नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट गोल किपर वडा नं. १० का अस्मित देउजा, उत्कृष्ट गोलकर्ता (आठ गोल गर्न सफल) वडा नं. १० का रोजित खत्री, उत्कृष्ट प्रशिक्षक वडा नं. ९ का दिपेश खत्रीलाई जनही रु. पाँच हजार पुरस्कार, ट्रफी, मेटल र प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा नगरप्रमुख थापाले सूर्यविनायक नगरलाई खेलकुदको उत्कृष्ठ हव बनाउने गरि नगरपालिकाले कार्ययोजना कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो नगरपालिकालाई खेलकुदको क्षेत्रमा पनि देशकै उत्कृष्ठ पालिका बनाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल मैदानमा पदक जित्न सक्ने प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने अभियान सुरुवात गरेका छौं, खेलकुदको विकासका लागि नगरपालिकाले एक करोडको बजेट विनियोजन गरेका छौं, हामीले खेलाडी उत्पादन गर्न तल्लोतहबाटै ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरेका छौं, अब प्रत्येक महिना बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्नेछौं ।’

भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउदै उहाँले तिहार पछि नंखेलमा ५० रोपनी जग्गामा फुटबल रंगशालाका निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको र यसवर्ष प्रत्येक वडामा एक खेल मैदान निर्माण गरिने बताउनुभयो ।

सूर्यविनायक नगरपालिका खेलकुद विकास समितिका सदस्य सचिव एवं कार्यक्रमका सभापति दीपक थापाले यही असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाका वडा नं. १ देखि १० सम्मको १० वटा टिमले प्रतिस्पर्धा गरेको बताउनुभयो । उहाँले हरेक महिना एक प्रतियोगिता आयोजना गर्ने, खेलकुदको विकाससंगै खेलाडी प्रशिक्षण, खेलाडीलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्ने र सम्मान गर्ने कार्य गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

