काठमाडौं, २९ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताबीचको एकतालाई राष्ट्रिय शक्ति र मौलिक पहिचानका रूपमा व्याख्या गर्नुभएको छ।
उहाँले छठजस्ता मौलिक सांस्कृतिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभएको छ। छठ पर्व २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापा मगरले विविधताबीचको एकतालाई नेपालको विशिष्ट पहिचानका रूपमा प्रस्तुत गर्नुभएको हो।
उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण एक सुन्दर राष्ट्र हो । विविधताबीचको सुदृढ एकता नै हाम्रो मौलिक पहिचान र राष्ट्रिय शक्ति हो। छठ जस्ता मौलिक पर्वहरूले नेपाली समाजमा आपसी सहिष्णुता, भावनात्मक एकता र राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न विशिष्ट योगदान पु¥याउँदै आएका छन्।”
मुख्यमन्त्री थापा मगरले छठ पर्व धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक सद्भाव, समानता, भाइचारा र प्रकृतिप्रतिको सम्मान अभिव्यक्त गर्ने विशिष्ट सांस्कृतिक पर्वसमेत भएको उल्लेख गर्नुभएको छ। अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने छठ पर्वको अवसरमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “अस्ताउँदो र उदाउँदो सूर्यको पूजा आराधना गरी अत्यन्त निष्ठा, पवित्रता र भक्तिभावका साथ मनाइने नेपालीहरूको ऐतिहासिक एवं सांस्कृतिक छठ पर्व २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”
तराई–मधेसबाट सुरु भएको छठ पर्व अहिले हिमाल, पहाड र तराईका सबै क्षेत्रमा उत्तिकै श्रद्धा र भक्तिभावका साथ मनाइनु नेपाली समाजको सांस्कृतिक एकताको उदाहरण भएको मुख्यमन्त्री थापा मगरले बताउनुभएको छ। उहाँले यस पर्वले मानव र प्रकृतिबीचको अटुट सम्बन्धलाई जीवन्त राखेको उल्लेख गर्नुभएको छ।
उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ, “छठ पर्व धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले अत्यन्त विशिष्ट र अद्वितीय छ । तराई–मधेसबाट सुरु भई हाल हिमाल, पहाड र तराई सबैतिर उत्तिकै श्रद्धाका साथ मनाइने यस पर्वले मानव र प्रकृतिबिचको अटुट सम्बन्धलाई जीवन्त राखेको छ।”
जल र सूर्यको उपासनामार्फत पर्यावरण संरक्षण, अहिंसा, सामाजिक सद्भाव र विभेदविहीन समाज निर्माणको सन्देश प्रवाह गर्नु छठ पर्वको महत्त्वपूर्ण पक्ष भएको उहाँको भनाइ छ। सबै वर्गका मानिस एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने परम्पराले समानता र सामाजिक एकताको सन्देश दिने उहाँले उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री थापा मगरले भन्नुभएको छ, “जल र सूर्यको उपासनामार्फत पर्यावरणको संरक्षण, अहिंसा, सामाजिक सद्भाव र विभेदविहीन समाजको निर्माण गर्नु यस पर्वको मुख्य सन्देश हो। सबै वर्ग एउटै घाटमा उभिएर सूर्यदेव र छठी माताको आराधना गर्ने भएकाले यस पर्वले आपसी समानता, एकता र भाइचाराको अनुपम उदाहरण प्रस्तुत गर्दछ।”
यसैगरी, बागमती प्रदेश सरकार मौलिक चाडपर्व, भाषा तथा संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभएको छ। स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै राष्ट्रिय पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणमा प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।
उहाँले भन्नुभएको छ, “बागमती प्रदेश सरकार आफ्नो अभिभावकीय भूमिका निर्वाह गर्दै, स्थानीय तह र सरोकारवाला निकायहरूसँगको सहकार्यमा यस्ता राष्ट्रिय गहनाका रूपमा रहेका अमूल्य चाडपर्व, भाषा एवं संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सदैव प्रतिबद्ध रहेको छ।”
मुख्यमन्त्री थापा मगरले छठी माताको कृपाले सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह र उज्यालो छाओस् भन्ने कामना गर्नुभएको छ। साथै, छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव र मित्रवत् सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै पुनः सम्पूर्ण नेपालीमा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएको छ।


