बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


शिक्षाको बजेट लक्षित वर्गसम्म कहिले पुग्ला : समाजसेवी राधिका शाक्य : गरिब, दलित, विपन्नबालबालिका जब मुहार उज्यालो भयो

शिक्षाको बजेट लक्षित वर्गसम्म कहिले पुग्ला : समाजसेवी राधिका शाक्य : गरिब, दलित, विपन्नबालबालिका जब मुहार उज्यालो भयो



भक्तपुर, २६ जेठ : चारवर्षकी करुणा मिजार विद्यालय पोशाक, जुत्ता, किताब हाल्ने कपडाको झोला र कापीकलम सहितको ब्याग समाउदै मख्ख परिन् । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक विद्यालयमा आज भेला भएका सयौँ गरिब परिवारका बालबालिका तथा अभिभावक आशाले भरिएको देखिन्थ्यो ।

स्कुल प्राङ्गनमा भेला भएका पाँच वर्षका रियाक्सन सुनुवार, चार वर्षकी आर्या मिजार, सिजन बराललगायत ३ देखि ७ वर्षका गरिब परिवारका बालबालिका र अभिभावकहरु हातमा झोला समाउँदा उनीहरुको मुहार निकै हसिलो एवं खुसीले भरिएको देखिन्थ्यो ।

वाग्मति प्रदेश सभाका सांसद किरण थापाले यसअघि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष हुँदा पाएको पाँचवर्षको तलब भत्ता वापतको रु. १५ लाख रकमबाट गरिब, दलित एवं विपन्न वर्गका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उदेश्यले स्थापना गर्नु भएको जगत भैरब प्रतिष्ठान शैक्षिक अक्षयकोषको रकमबाट पहिलो पटक दुई विद्यालयका विद्यार्थीहरुलाई पोशाकदेखि स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको हो ।

अक्षयकोषमा बिभिन्न दाताहरुले २१ लाख रुपैयाँ थप गरि कूल रु. ३६ लाखको अक्षयकोण सञ्चालनमा आएपछि यसवर्षदेखि दई विद्यालयका विद्यार्थीहरुलाई बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई पोशाक एवं स्टेशनरी वितरण गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली पत्नी समाजसेवी राधिका शाक्यले शिक्षाको पहिलो आँगनमा भविश्य बोकेर आएका राजधानीकै विद्यायका बालबालिकाको अनुहार देख्दा निकै दुःख लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, “राजधानीकै विद्यार्थीको अवस्था यस्तो छ भने दुर दराजको बालबालिकाको अबस्था कस्तो होला ?, वजेटमा शिक्षा क्षेत्रलाई धेरै वजेट बिनियोजन गरेपनि लक्षित बर्गसम्म पुग्न नसक्दा कयौं बालबालिकाले शिक्षाको उज्यालोबाट बञ्चित हुन परेको देख्दा निकै दुःख लागेको छ ।” शिक्षिका बनेर पढाउने आफ्नो लक्ष्य भएपनि समय परिस्थितिले आफूलाई बैंकमा नोकरी गर्ने अबस्थामा पुर्याएको उहाँको भनाइ थियो ।

कार्यक्रममा वाग्मति प्रदेश सभाका सांसद किरण थापाले आर्थिक अभावका कारण गरीव तथा जेहेन्दार छात्रछात्राले पढाईबाट बञ्चित हुनु नपरोस् भनेर अक्षयकोष स्थापना गरि सहयोग गर्न सुरु गरेको बताउनु भयो ।

यो पनि पढ्नुहोस  हाम्रो लक्ष्य उद्देश्य चुनाव होइन : अध्यक्ष नेपाल

गणेश माविको नयाँ भवन निर्माण सुरु भएको बताउदै उहाँले भन्नुभयो, “अधिकांश गरिब, दलित, विपन्नलगायतका ४७५ जना बालबालिका अध्ययनरत यस विद्यालयको रु. ६ करोड ५० लाखको लागतमा २१ कोठे नयाँ भवन निर्माण भइरहेको छ, पछिल्लो समय नमुना स्कुलको रूपमा चिनिएको बिद्यालयमा प्लस टु सञ्चालन गर्ने तयारी थालेका छौँ, यहाँ आर्थिक अभावकै कारण कसैले पनि पढाइबाट बञ्चित हुन नपरोस भनेर लागिरहेका छौँ ।”

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले प्रतिष्ठानले उदाहरणीय काम गरेको बताउँदै तत्कालीन वडाध्यक्ष किरण थापाले आफुले पाउने पारिश्रमिकबाट यस विद्यालयलाई सहयोग गरेर पुण्य काम गरेको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति द्वारिकाप्रसाद सत्याल, प्रतिष्ठानका सदस्य रामेश्वर थापा, वडा नं.८ का वडाअध्यक्ष पुष्पराज बस्नेत, विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद मैनालीलगायतले विद्यार्थीको अनुहारमा आएको खुसीले गणुस्तरीय शिक्षा आर्जन गर्न र विद्यालयलाई प्रदान गरिएको ल्यापटपले शिक्षक, शिक्षिकालाई प्राबिधिक शिक्षा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बिद्यालयलाई सहयोग गर्दै आएका व्यवसायी रामबहादुर लामा, चित्रा केसी, यादब राईलगायतलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानले कार्यक्रममा विद्यालयलाई एक ल्यापटप, देवी आधारभूत विद्यालयका ५० जनालाई स्कुल ब्याग, स्कुल पोशाक, टाई, जुत्ता, स्टेशनरी र गणेश माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई ब्याग, ट्रयाकसुट, जुत्ता, स्टेशनरीसामानलगायतको हस्तान्रण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रबिन्द्र थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित