भक्तपुर, २२ बैशाख : आन्तरिक राजस्व कार्यालय भक्तपुरबाट वितरण हुदै आएको स्थायी लेखा नम्बर (प्यान) अब भक्तपुरको सूर्यविनायक नगरपालिकाले वितरण गर्ने भएको छ ।
जनतालाई छिटो र छरितो रुपमा प्यानलगायतका कर सम्बन्धी कार्य गर्न सरकारको निर्देशनसंगै भक्तपुरमा पहिलो पटक सूर्यविनायक नगरवासीले प्यान नम्बर वितरणलगायतको सेवा गर्ने भएको हो । आन्तरिक राजस्व विभागको गतपुस २० गतेको निर्णयलाई कार्यान्वयनमा ल्याउन आन्तरिक राजस्व कार्यालय, भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नगर प्रमुख वासुदेव थापाको कार्यकक्षमा एवं रोहबरमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज आचार्य र आन्तरिक राजश्व कार्यालय भक्तपुरकी प्रमुख कर अधिकृत उषा पोखरेलले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
हस्ताक्षर पछि नगर प्रमुख वासुदेव थापाले आन्तरिक राजस्व कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू सूर्यविनायक नगरपालिकाबाटै सहज रूपमा प्रदान गरिने बताउनुभयो । उहाँले समझदारीपत्रमा करदाता मैत्री सेवाहरूलाई अझ सरल, सहज र पहुँचयोग्य बनाउँदै नगरवासीले आवश्यक राजस्वसम्बन्धी सेवा अब नगरपालिकाले प्रदान गर्ने बताउनुभयो । सेवा सञ्चालनमा आएसंगै प्यान कार्ड लगायतका सामान्य कामका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको नगर प्रमुख थापाले बताउनुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आन्तरिक राजस्व कार्यालयले नगरपालिकाका कर्मचारीलाई केही दिनमै तालिम प्रदान गरे लगत्तै नगरपालिकाले प्यान कार्डलगायत आन्तरिक राजस्व सम्बन्धी सेवा सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले तालिम पश्चात पालिकाबाट व्यक्तिगत प्यान, व्यावसायिक प्यान लिन सक्ने जानकारी दिदै नगरपालिकाले मूल्य अभिबृद्धि कर (भ्याट), अन्त शुल्क र कर चुक्ता सम्बन्धि प्रारम्भिक कागजात नगरपालिकामा पेशगरी नगरपालिकाले आन्तरिक राजश्व कार्यालयलाई अनलाईनमार्फत सिफारिस गर्ने बताउनुभयो ।
कार्यालयले कागजात, अनलाइनबटै जाँचगरी पुनः नगरपालिकामा पठाएपछि नगरपालिकाबाट प्रमाणपत्र जारी गर्ने प्रमुख कार्यकारी अधिकृत आचार्यले जानकारी दिनुभयो । आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संशोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षासमेत अव नगरपालिकाले नै गर्ने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

