भक्तपुर, ५ भदौ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आइतबार र सोमबार भएको घट्नाको आजबाट छानबिन सुरु भएको छ । सुधार गृहमा रामेछाप प्रहरी कार्यालयबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याईएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्युपछि सुरु भएको घट्नाको मंगलबारबाट छानबिन सुरु भएको हो ।
आइतबारको घट्ना पछि प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घट्नाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानविन समितिले मंगलबारबाट काम सुरु गरेको उनले जानकारी दिए ।
“छानबिन समितिले आजैबाट आफ्नो काम सुरु गरेको छ । आज समितिको टोलीले सुधार गृह गएर त्यहाँका बन्दी, कर्मचारी, व्यबस्थापक लगायतका बिभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्ने काम सुरु गरेको छ,” सिडिओ रिजालले भने “सातदिन भित्र यसको प्रतिवेदन आएपछि सुधार गृह र घट्नाको बास्तविकता आउने छ ।”
घटनाको छानविन गरि सत्य तथ्य ल्याउन सहायक सिडिओ निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको थियो ।
त्यसैगरी सुधार गृहबाट सोमबार फरार भएका मध्ये मंगलबार थप १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार सुधार गृहको पछाडिको गेट फोडेर भागेका २२१ जना बन्दी मध्ये प्रहरीले सोमबार २०४ जनालाई नियन्त्रणमा लिएको थियो भने बाँकी १७ जना मध्ये मंगलबार १० जना नियन्त्रणमा लिएको प्रहरी परिसर भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । बाँकी सात जनाको पनि खोजी भइरहेको र बुधबारसम्ममा नियन्त्रण गरिसक्ने उनले दाबी गरे ।
यस्तै सुधार गृहमा मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिए पछि शव परीक्षण हुन नसकेको एसपी केसीले बताए । मृतकका परिवारसँग भएको छलफलमा बुधबार जाहेरी दिने र त्यसपछि शव परीक्षण गरि शव बुझने गरि छलफल भएको उनले बताए । आइतबारबाट भएको घट्नाका कारण सुधार गृहभित्र रहेको बालबालिकाहरु भने अझै त्रसित रहेका छन् ।
सोमबार प्रहरी र बन्दीबीच भएको झडपमा प्रहरीले २ राउण्ड अश्रृग्याँस प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो । घट्ना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरि २९ जना घाइते भएका थिए । केही घाइते उपचार पश्चात फर्किएको र बाँकीको उपत्यकाका बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । सुधार गृह र यूसेप नेपालमा बन्दीबाट भएको तोडफोडको क्षति बिबरण पनि मंगलबार संकलन गर्ने कार्य भएको र क्षतिको विवरण भोली सार्वजनिक हुने भएको छ ।

