बिहिबार, साउन २८, २०८३ | Thu August 13, 2026


वागमति प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण बुधबार

वागमति प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण बुधबार



बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण बुधबार हुने भएको छ । बुधबार बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।

मंगलबार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ ।

लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि बुधबार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण प्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालय र कांग्रेसका अन्य ६ जना मन्त्रीको पनि बुधबार शपथ ग्रहण हुने भएको हो ।

कांग्रेसको भागमा परेको ६ मन्त्रालयमा को–को मन्त्री जाने भन्ने विषय टुंगिन सकेको छैन । कांग्रेसको ६ मन्त्रालयका लागि दर्जनभन्दा बढी सांसदहरूको नाम चर्चामा रहेको छ । आकांक्षी बढी हुँदा कांग्रेसले मन्त्री टुंग्याउन सकेको छैन ।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीले शपथ ग्रहण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित