शनिबार, मंसिर २२, २०८१ | Sat December 07, 2024


भक्तपुर बहुमुखी क्याम्पसमा नगरपालिकाले चलायो डोजर, क्याम्पस बन्यो तनाबग्रस्त

भक्तपुर बहुमुखी क्याम्पसमा नगरपालिकाले चलायो डोजर, क्याम्पस बन्यो तनाबग्रस्त



भक्तपुर, ७ कात्तिक : खुट्टा भाँचिएर बैशाखीको साहारामा दैनिक क्याम्पस आउने भक्तपर बहुमुखी क्याम्पसकी प्रमुख कविता लईटेल आज पनि आफ्नै कार्यकक्षमा क्याम्पसको दैनिक कार्य गर्दै हुनुहन्थ्यो ।
अचानक क्याम्पस प्राङ्गनमा भक्तपुर नगरपालिकाका नगर प्रहरी र कर्मचारीसहित दुईवटा डोजर क्याम्पस छिर्यो । एउटा डोजरले क्याम्पसको गेट भत्काउन थाल्यो भने अर्कोले क्याम्पस हाताभित्रको पानी ट्याङ्गीसहितको सानो भवन, शौचालय र अन्य संरचनामा भत्काउन थाल्यो ।
शान्त रहेको क्याम्पसमा विद्यार्थी र कर्मचारीबीच कोलाहाल मच्चियो । एकैछिनमा क्याम्पस तनावग्रस्त बन्यो । क्याम्पस प्रमुख लुईटेल बैशाखी टेक्दै आएर कुर्सीमै बसेर डोजर रोक्न खोज्नु भयो । क्याम्पसका स्ववियू सभापति पुकार पराजुलीसहति विद्यार्थी कर्मचारीले विद्यार्थील डोजर रोक्न माग गर्दै बिरोध गर्न थाले ।
गरप्रहरी र नगरपालिकाका कर्मचारीले क्याम्पस प्रमुखसहितको कुर्सी उचालेर पर लगेर राखिदिएर धमाधम डोजरले संरचना भत्काउन थाले । नगर प्रहरीले हातमा साङ्लो बनाएर बाहिरबाट आएका विद्यार्थीलगायतलाई प्रवेश निषेध गरे । स्ववियू सभापति पराजुली, विद्यार्थी नेता चुडामणी पौडेललगायत विद्यार्थीहरुले भक्तपुर नगरपालिकाको ज्यादती भन्दै बिरोध गरेर रोक्न खोजे ।
क्याम्पस प्रमुखले प्रमुख जिल्ला अधिकारी र प्रहरीसंग सुरक्षा माग्यो । क्याम्पस हातामा तनाब भइरहदाँ आएका ५ जना प्रहरी मूकदर्शक भए । एकघण्टाको अन्तरालमा क्याम्पसभित्रका लाखौको संरचना भत्काएर २० फिटको सिमाना छुट्याएर डोजर, नगर प्रहरी र नगरका कर्मचारी बाहिरिए । यो आज भक्तपुर बहुमुखी क्याम्पस हाताभित्र  भएको दृश्य हो ।
क्याम्पस प्रमुख लुईटेलले त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको भक्तपुर बहुमुखी क्याम्पसमा भक्तपुर नगरपालिकाले अराजक शैलीमा सरचना भत्काएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पोखरीमा बाटो बनाउन नगरपालिकाले क्याम्पसको जग्गा मागिरहेको थियो, मैले दिन मिल्दैन, यो टियूको जग्गा हो, उसको निर्णय आउन कुरिदिनुस् भनेको थिए, आज कुनै जानकारीनै नदिई नगरपालिकाले ठाडो हस्तक्षेप गरेर क्याम्पसको संरचना भत्काएको छ । क्याम्पसको अरबौको सम्पत्तीसमेत जोखिममा परेको छ ।”
त्रिभुवन विश्व विद्यालयले गठन गरेको जग्गा छानबिन आयोगले हिजोमात्रै स्थलगत अवलोकन गरेर गएको र त्यसको प्रतिवेदन बुझाएपछि आएको निर्णयानुसार गरौला भनेर नगरपालिकालाई भन्दा उल्टै आज जबरजस्ती गरेको उहाँले बताउनुभयो ।
क्याम्पस प्रमुख लुईटेलले भन्नुभयो, “नगरपालिकाले पठाएको प्रत्येक पत्र विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई पठाएका छौँ, उताबाट जवाफ नआउदै नगरपालिकाले डोजर चलायो, दुईघण्टा कुरिदिनु टियूमा यसबारे बैठक बस्दैछ भन्दा पनि मानेन, हामीले प्रहरी प्रशासनसंग सुरक्षा समेत पाएनौ ।” नगर प्रमुख र वडाअध्यक्षलाई पटक पटक फोन गर्दा फोन नै नउठाएको गुनासो उहाँले गर्नुभयो । क्याम्पसमा झडपको अबस्था आउँदा पनि सुरक्षा नपाएको र ढिलोगरि आएका दुईचारजना प्रहरीलाई पनि नगरप्रहरी र कर्मचारीले क्याम्पस कम्पाउण्डबाट बाहिर लखेटेको उहाँले बताउनुभयो ।
स्ववियू सभापति पराजुलीले भन्नुभयो, “नगरपालिका अराजक र गुण्डागर्दी शैलीमा आयो र क्याम्पसको संरचनामा डोजर चलायो, सिसि क्यामरा, गेट, खानपानीको ट्यांकी, पानीघर सबै भत्कायो, भोलीदेखि विद्यार्थी र क्याम्पस कर्मचारीका लागि पिउन र शौचालय प्रयोग गर्ने पानी समेत नहुने भो, अब क्याम्पस भित्र रहेको अरबौको सम्पत्तिको सुरक्षा कसले लिन्छ ?” क्याम्पस प्रशासन, कर्मचारी र विद्यार्थीलाई आतंकित पार्दै गुण्डागर्दी शैलीमा नगरपालिकाले संरचना भत्काएको उहाँले आरोप लगाउनुभयो ।
क्याम्पस कल्याण कोषका संयोजक शेरसिंह राईखोलाले भक्तपुर नगरपालिकासंग कसरी सहमति गरेर जान सकिन्छ भनेर पटक पटक आफै बसेर छलफल गरिरहेको अबस्थामा नगरपालिकाले आज अचानक सरकारी संरचनामाथि डोजर चलाएर क्याम्पसको जग्गा कब्जामा लिएको बताउनुभयो । नगरपालिकाको आजको शैली निकै अराजक र आक्रमण शैलीमा आएको र बिरोध गर्नेलाई धम्कीसमेत दिएको बताउनुभयो ।  अर्का विद्यार्थी नेता चुडामणि पौडेलले क्याम्पसको जग्गा कब्जा गरेर नगर प्रहरी र यहाँ आएका कर्मचारीले बिरोधमा उत्रिएका विद्यार्थी र क्याम्पस कर्मचारीमाथि हातपातसमेत गरेको बताउनुभयो ।
यसबारेमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पोखरी निर्माणसम्पन्न भइसकेको अबस्थामा क्याम्पसले ओगटेको जग्गामा २० फिटको सडक बनाउन खोज्दा वर्षौदेखि अटेर गरि बसेकाले बाध्य भएर डोजर चलाउनु परेको बताउनुभयो । उहाँले २०२१ सालको नापी नक्सामा उक्त जग्गा पोखरीको डिल भएको उल्लेख गरेकोले उक्त जग्गामा पोखरीको दक्षिणतर्फ परम्परागत शैलीमा सडक निर्माण गर्न खोज्दा क्याम्पसले अबरोध गर्दै आएको दाबी गर्नुभयो ।
नगरप्रमुख प्रजापतिले भन्नुभयो, “तीनवर्ष अगाडिदेखि क्याम्पस प्रमुख, विश्वविद्यालय, रजिष्ट्रार सबैसंग पटक पटक छलफल भइरहेको हो, तर छलफल र बैठकमा माइन्युट समेत उठाउन नदिने, हस्ताक्षर नगर्ने र बिभिन्न बाहना बनाएर सडक खोल्न नदिएपछि अरु बिकल्प नदेखिएकाले भत्काउनु परेको हो ।”

वर्षौदेखि क्याम्पसले चर्चेको ऐतिहासिक भाजु पोखरीको दक्षिणतर्फ पोखरीकै डिललाई सम्याएर पोखरीको संरक्षण गर्ने, सौन्दर्यता थप्ने, र चारैतिर सर्वसाधारणलाई पोखरी घुम्न सक्नेगरि बाटो खोल्न डोजर लगाएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भन्नुभयो, “हामीले नक्सा पनि देखाएकै हो, पटक पटक सहमतिको लागि प्रयास पनि गरेकै हो, सहमतिमै सडक पनि बनाऔ, क्याम्पसको सुरक्षा हुने गरि थप संरचना पनि बनाऔ,  क्याम्पसको आकर्षक परम्परागत शैलीको प्रवेशद्धार पनि बनाऔ भनेर नगरपालिकाले ५० लाख बजेट पनि व्यबस्था गरिसक्यौ, पटक पटकको प्रयासमा पनि टियू र क्याम्पसले गम्भिरता नदेखाएपछि क्याम्पसले वर्षौदेखि ओगटेको पोखरीकै जग्गामा डोजर लगाएका हौ ।” उहाँले त्यस क्षेत्रमा नगरपालिकाले २० फिट भित्र पोखरी घुम्न मिल्ने गरी पेटी निर्माण एवं ऐतिहासिक पोखरीको गेट समेत निर्माण गर्न लागेका हो ।
पोखरीको पर्खाल निर्माण उपभोक्ता समितिका संयोजक लक्ष्मीनारायण राजलवतले त्यस क्षेत्रमा भक्तपुर नगरपालिकाको ३६ लाख लागत इष्टिमेटमा तीन फिट गहिरो र चार फिट उचाईको पर्खाल निर्माण सुरु गर्न लागेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  सुनचाँदीको मूल्य ओरालो लाग्यो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित