शनिबार, असार १३, २०८३ | Sat June 27, 2026


मन्त्री थापाले दुरदराजका गाउँमा पुर्याए ‘अल्ट्रासाउण्ड मेशिन’, औषधि र स्वाथ्यकर्मीको टोली लिएर पुगे महाभारत

मन्त्री थापाले दुरदराजका गाउँमा पुर्याए ‘अल्ट्रासाउण्ड मेशिन’, औषधि र स्वाथ्यकर्मीको टोली लिएर पुगे महाभारत



काभ्रेपलाञ्चोक । गर्भवति महिलालाई आफ्नो बच्चाका स्वास्थ्यका अबस्था जानकारी लिनका लागि गर्भवति परीक्षण गर्ने सुबिधा नजिक थिएन । गर्भवति अबस्थामा स्वास्थ्य परीक्षणका लागि टाढा जान सक्ने अबस्था पनि सधै सहज हुदैनथ्यो ।

त्यस्तो अबस्थामा कयौ महिलाहरुले बच्चाको स्वास्थ्य अबस्थाकोबारेमा जानकारी नै नलिई स्वास्थ्य परीक्षणसमेत नगराई बच्चालाई जन्मदिनु पर्ने बाध्यकारी अबस्था आएको थियो । यस्तो समस्या झेलिरहेका दुरदराजका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ लाग्नु भएका वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा जब आफै अल्टासाउण्ड मेशिन, केही स्वास्थ्य सामग्री, औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जब महाभारत गाउँ पालिका पुग्नुभयो, तब त्यहाँका धेरै नागरिकको मुहारमा खुसी तरंगित भएको देखियो ।

नजिकै स्वास्थ्य संस्था र स्वाथ्यकर्मीको अभाव झेलिरहेको काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा पहिलो पटक ‘ग्रामिण अल्ट्रासाउण्ड’ मेशिन पुगेको हो ।
यहाँका गर्भवति महिलालाई स्वास्थ्य परीक्षणका लागि टाढा धाउनु पर्ने समस्याबारे जानकारी पाएपछि वागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा आफै अल्ट्रासाउण्ड मेशिन सहित केही स्वास्थ्य सामग्री बोकेर महाभारत गाउँपालिका पुग्नु भएको हो ।

महाभारत गाउँपालिकामा मंगलबारदेखि सुरु भएको बृहत्त निशुल्क जनस्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री थापाले देशका दुर दराजमा स्वास्थ्यको पहुँच पर्याउने उदेश्यका साथ अल्ट्रासाउण्ड मेशिन र केही स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको छ । मन्त्री किरण थापाले ग्रामिण क्षेत्रमा नै गर्भवती महिलाहरुले पेटमा भएको बच्चा र आमाको अवस्थाका बारेमा जानकारी पाउन सहज होस भनेर प्रदान गरिएको मेशिनको भरपुर उपयोग गर्न अनुरोध गर्नुभयो ।

उहाँले वागमति प्रदेशका कोही पनि नागरिकले स्वास्थ्य उपचार नपाएर ज्यान गुमाउन नपरोस भनेर आफू लागिरहेको बताउदै यस क्षेत्रलाई स्वास्थ्यको पहुँचमा सहज बनाउने कार्यमा आफू लागेको बताउनभयो । उहाँले प्रदेशका १३ वटै जिल्लाका विकट क्षेत्रका गाउँपालिकाहरुमा पनि आधारभूत स्वास्थ्य सेवाबाट समेत कतिपय नागरिक बञ्चित रहनु परेको अबस्थालाई अन्त्य गर्दै सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो पनि पढ्नुहोस  वागमति प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ ग्रहण बुधबार

शिविरमा प्रदेशसभा सदस्य रत्न ढकाल, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका महानिर्देशक, निर्देशक तथा शाखा प्रमुखहरु, जनस्वास्थ्य कार्यालय काभ्रे प्रमुख रागिश्री कक्षपति श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रशाशकीय अधिकृत हरिसिं विष्ट, नेपाल परिवार नियोजन संघका प्रवन्धक रमेश श्रेष्ठ, ख्वप तिलगंगा आँखा अस्पतालका धिरज अधिकारी लगायत विभिन्न शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु, कर्मचारीहरु, शिक्षक तथा विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

महाभारत गाउँपालिकाको–६ बनखुचौर स्थित आजाद आधारभुत विद्यालयमा मंगलबार सुरु भएको शिविर आज बुधबार महाभारत गाउँपालिका–१ गोकुले स्वास्थ्य चौकी धापमा सञ्चालन भएको छ । दुई वडामा दुई दिन भएको शिविरमा यहाँका एक हजार भन्दा बढी नागरिकहरुले विभिन्न स्वाथ्य सेवा लिने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।

बृहत स्वास्थ्य शिविरमा यहाँका बासिन्दाले भिडियो एक्सरे, मुटु रोग, पाठेघर सम्वन्धी, छाला तथा यौन रोग, नाक, कान, घाँटी, नसर्ने रोगको पहिचान, परिवार नियोजन सेवा, आँखाको परिक्षण तथा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा लिएका छन् ।

महाभारत गाउँपालिका भित्र पहिलो पटक आँखाको मोतिविन्दुको शल्यक्रिया समेत हुने भएको छ । यसअघिको शिविरहरुमा मोतियाविन्दु भएका विरामीहरुलाई बनेपा तथा काठमाडौका अस्पतालमा लगेर शल्यक्रिया गर्ने गरिएको भएपनि यो शिविरमा भने पहिलो पटक गाउँपालिकाले ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा निशुल्क आँखा परीक्षण एवं शल्यक्रिया हुने भएको हो । यहाँका मोतिविन्दुका विरामीहरुका लागि यही मसिंर २० र २१ गते विशेषज्ञ चिकित्सहरुको समुहले घर्तीछाप स्वास्थ्य चौकीमा मोतिविन्दुको निःशुल्क शल्यक्रिया गर्ने ख्वप तिलगंगा आँखा अस्पतालका धिरज अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा नेपाल परिवार नियोजन संघ काभ्रे शाखाले प्रजनन स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । बाढी र पहिरो प्रभावित क्षेत्रका समुदायका लागि आयोजना गरिएको शिविरमा महिलाहरुका लागि विशेष स्वास्थ्य परीक्षण गरिने शाखा प्रवन्धक रमेश श्रेष्ठले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस  तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु

शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा, पेट तथा छाती सम्वन्धी रोगको परीक्षण, उपचार तथा परामर्श, बाल रोगको परीक्षण, उपचार तथा परामर्श, प्रसुति तथा स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श, मुख तथा दाँत, नाक, कान, घाँटी सम्वन्धी रोगको परीक्षण, उपचार तथा परामर्श सेवा, क्षयरोगको पहिचान, उपचार र परामर्श सेवा उपलब्ध गराईएको थियो ।

नर्सर्ने रोगको पहिचानका लागि रक्तचापको मापन, रगतमा चिनीको जाँच तथा पिसावमा चिनी र प्रोटिनको जाँच, निशुल्क परिवार नियोजन सेवा अन्र्तगत पुरुषहरुको लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) तथा महिलाहरुका लागि लामो अवधीको परिवार नियोजनका साधन (आईयुसिडी र इम्प्लान्ट) राख्ने शिविर, पाठेघरको मुखमा क्यान्सर देखिन सक्ने सम्भावना भएका महिलाहरुका लागि निशुल्क सेवा उपलब्ध गराएको छ ।

शिविरमा भिडियो एक्सरे र क्षयरोग पहिचानका लागि छातीको एक्सरे सेवा उपलब्ध गराईएको छ भने आँखा रोगको परीक्षण, उपचार तथा परामर्श सेवा, अपाङ्गता परिचयपत्र वितरणका लागि शारीरिक परीक्षण र आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा उपलब्ध गराईएको छ । शिविरमा नागरिकहरुहरुको उल्लेख्य सहभागिता रहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले जानकारी दिनुभयो ।

जिल्लामा स्वास्थ्य सेवा उपलब्ध गराउने विभिन्न मापदण्डमा महाभारत गाउँपालिका २०८०÷२०८१ मा उत्कृष्ट पालिकाका रुपमा २०८१ असोज ११ गते सम्मानित भएको थियो । स्वास्थ्य शाखामा कार्यरत संगिता लामाका अनुसार शिविरमा विभिन्न खालका विशेषज्ञ सेवाहरु उपलब्ध भएकाले नागकिरहरुलाई सहज भएको हो ।

शिविरमा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, महाभारत गाउँपालिकाको स्वास्थ्य शाखा तथा अन्य विभिन्न संघ संस्थाहरुले समन्वय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित